हिमाल आरोहणमा कोरोना प्रभावः सिजनमै राज्यलाई ५० करोड नोक्सानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2020 | 10:52:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्षको बसन्त ऋतुमा हिमाल आरोहणबाट संकलन हुने करोडौँ रुपैयाँ राजश्व गुमाएको छ । बसन्त ऋतुको आरोहण सुरु हुने समयमा नै कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रभाव देखा परेपछि हिमाल आरोहण हुन पाएन । कोरोना भाइरसको बढ्दो महामारीका कारण विभिन्न देशमा संक्रमित र मृतको संख्या बढिरहेको छ । अवस्था प्रतिकुल भएका कारण बसन्त ऋतुसँगै अगामी ६ महिनाभित्र हुन सक्ने सबै पर्वतीय गतिविधि रोकिएको नेपाल पर्वतारोहण संघ (एनएमए)को भनाई छ । 

१४ करोड राजश्व गुम्यो

एनएमएका अध्यक्ष शान्तवीर लामाका अनुसार नेपालले पर्वतारोहणमार्फत हरेक वर्ष करिब १५ करोडको हाराहारीमा राजश्व संकलन गर्दै आएको थियो । प्राकिृतिक स्रोत साधनको उपयोग गरेर आर्जन गरेवापत यो राजश्व केन्द्र, प्रदेश र स्थानीय तहमा रोयल्टीका रुपमा बाँडफाँड हुने नियम छ । 

तर यस वर्ष भने मुख्य सिजनमा नै कोरोना भाइरसको त्रासका कारण पर्वतीय गतिविधि शुन्य भएका छन् । नेपालले पर्वतारोहणमार्फत संकलन गर्ने कुल राजश्वको ७१ प्रतिशतभन्दा धेरै राजश्व बसन्त ऋतुमा संकलन गर्दै आएको थियो । पर्वतारोहण संघका अध्यक्ष लामाका अनुसार बसन्त ऋतुमा मात्रै हिमाल आरोहणमार्फत ९ देखि १० करोड रुपैयाँ राजश्व संकलन हुँने गर्दछ । तर यसवर्ष भने सबै राजश्व गुम्ने उनको भनाई छ । 

एनएमएले मात्रै १४ करोड राजश्व गुमाउँदा सरकारले भने बसन्त ऋतुमा मात्रै ६० करोड राजश्व गुमाउने अवस्थामा आइपुगेको छ । 

‘अहिले सिर्जना भएको परिस्थितीका कारण पर्वतीय गतिविधि ठप्प हुँदा यसवर्षका सबै राजश्व गुक्ने नै भयो’ अध्यक्ष लामाले भने, ‘अवस्था सामान्य हुँदै गएपनि पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किन अब ३ वर्षभन्दा बढी समय लाग्छ ।’ 

सगरमाथाका लागि ८ समूहले अनुमति लिएका थिए

बसन्त ऋतुको आरोहण अवधिका लागि सगरमाथा आरोहण गर्नकै लागि ८ ग्रुपले अनुमति लिएका छन् । तर कोरोना भाइरसका कारण उनीहरु आरोहणमा जान सक्ने अवस्था छैन । ८ मध्ये पर्यटन विभागगबाट ४ र नेपाल पर्वतारोहण संघ (एनएमए)बाट ४ समूहले आरोहण अनुमतिका लागि आवेदन दिएका थिए । विभाग र एनएमएबाट अनुमति माग गरेकाहरुलाई दुवै निकायले अनुमति दिने अन्तिम तयारी गरिसकेका थिए । सगरमाथा बाहेकका ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि पनि केही समूहले अनुमतिको प्रक्रिया सुरु गरेका थिए । 

गतवर्ष बसन्त ऋतुकै आरोहण सिजनमा सथरमाथा आरोहण गर्नेको ‘ट्राफिक जाम’ भएको भन्दै अन्तराष्ट्रिय समुदायमलेसमेत प्रश्न उठाएका थिए । गतवर्ष ३७५ जनाले सगरमाथा आरोहण गरेका थिए । पर्यटन विभागका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख रुपैयाँ जम्मा भएको थियो । सगरमाथा आरोहण गर्ने ओरोहीबाट मात्रै ४४ करोड २३ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यसवर्ष राजश्व संकलन बढ्ने अनुमान पर्यटन मन्त्रालयले गरेपनि कोरोना कारण संकलन हुँदै आएको राजश्वसमेत गुम्ने निश्चित भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved