
 2mb (1).gif)
काठमाडौँको गोठाटारस्थित जम्बुडाँडामा सोमबार साँझ गोली लागी घाइते भएका लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने लाल मोहम्मद सर्लाहीको गोडैता नगरपालिका-८ का स्थायी बासिन्दा रहेको खुल्न आएको छ।
घाइते लाल मोहम्मदलाई शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा ५५ बर्षीय लाल मोहम्मदको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी गार्मेन्ट सञ्चालक रहेको पनि प्रहरीले जनाएको छ ।
मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गोली प्रहार गरेका थिए । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ ।
केही स्थानीयहरूले उक्त स्थानमा तीन राउन्ड गोली चलेको दाबी गरेका छन् । घटनापछि उक्त स्थानमा स्थानीयहरूको भीड नै लागेको थियो । अहिले प्रहरी टोलीले घटनास्थलको भीड तितरबितर पार्दै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।