गगनलाई अर्थमन्त्री बनाउने प्रचण्डको चाहना, देउवा र आरजुको नजर अन्तै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2023 | 12:28:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी प्रमुखको नेतृत्व सम्हालेको दोस्रो पटक विश्वासको मत पाएसँगै अब मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । लामो समयदेखि झण्डै डेढ दर्जन मन्त्रालयको भारी बोक्दै आएका प्रचण्ड ति भारी बोक्नसक्ने उपयुक्त पात्रको खोजीमा छन् ।

मुख्यतः उनले अर्थ र गृहमन्त्रीमा आफ्नो विश्वासपात्र व्यक्ति खोजिरहेका छन् । त्यसमा पनि खस्किएको अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भन्ने विषय गम्भिर मोडबाट गुज्रिरहेको सन्दर्भमा आर्थिक क्षेत्रलाई सबल र सक्षम बनाउने व्यक्ति पहिचान गर्न जुटिरहेका छन् । 

उनी अहिलेको आर्थिक मन्दी र अर्थतन्त्र सङ्कुचनमा रहेको बेला यसबाट ‘तार्न’ सक्ने अर्थमन्त्रीको खोजीमा देखिएका राजनीतिक विष्लेषकहरुको भनाइ छ । सत्ता समिकरणमा प्रवेश गरेको नेपाली काँग्रेसबाट अर्थमन्त्री बन्ने पक्का जस्तै छ । त्यसैले कांग्रेस भित्रको माओवादी उनको पहिलो रोजाइमा छ । 

वर्तमान जटिल आर्थिक अबस्थामा प्रधानमन्त्रीले काँग्रेसबाट अर्थतन्त्र सुधार गर्न सक्ने पात्रलाई अर्थमन्त्रीका रुपमा पठाउन काँग्रेस सभापति शेरबहादुर देउवालाई सोमबारै अनौपचारिक अनुरोध गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्ड स्वयम् भने अर्थमन्त्रीमा काँग्रेस महामन्त्री गगन थापालाई चाहिरहेका बुझिन्छ ।

अर्थतन्त्रका समस्याबारे शेखर कोइराला र गगन थापाले निजी क्षेत्रसँग पटक–पटक छलफल पनि गरिसकेको र निजी क्षेत्रले पनि उनीहरुसँग आश गरेकाले थापालाई अर्थमन्त्री बनाउँदा सकारात्मक सन्देश जाने र निजी क्षेत्रको समेत साथ सरकारले पाउने प्रधानमन्त्रीको विश्वास रहेको उनी निकट नेताहरु बताउँछन् ।

गगन थापा भने आफू निकटसँग अहिले सरकारमा जाने पक्षमा नरहेको बताउँदै आएका छन् तर, अर्थ मन्त्रालय पाउने अवस्था आउँदा पछि नहट्ने ‘मुड’मा देखिएका छन् । उनी निकटका नेताहरुले गठबन्धन सरकारबाट ‘रिजल्ट’ देखिने गरी काम गर्न नसकिने भन्दै मन्त्री नबन्न पनि सुझाएका छन् । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा स्वर्णिम वाग्ले र प्राडा गोविन्दराज पोखरेललाई आफ्नो टिममा राखेर काम गर्न सकिने भन्दै मन्त्री बन्न सुझाउनेहरु पनि उत्तिकै छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु फिर्ता बोलाएदेखि अर्थ मन्त्रालय विभागीय मन्त्रीविहिन छ । आगामी आर्थिक वर्षको बजेट तयारी गर्नुपर्ने महत्वपूर्ण समयमै विभागीय मन्त्री नभएपछि अर्थ मन्त्रालयले तीव्र गतिमा बजेट निर्माणको काम पनि गर्न पाएको छैन । 

सरकारको चालु खाता डेढ खर्ब बढीले घाटामा छ । मङ्गलबारसम्म ६ खर्ब ३३ अर्ब ११ करोड राजस्व सङ्कलन हुँदा ७ खर्ब ९३ अर्ब खर्च भइसकेको छ । निजी क्षेत्रका आफ्नै समस्या छन् ।

बैंकको ब्याजदर घटाउनुपर्नेदेखि बजारमा वस्तुको माग सिर्जना गर्नुपर्ने र यसका लागि तरलता व्यवस्थापन हुनुपर्ने नीति निजी क्षेत्रले चाहिरहेको छ । यस्तो अवस्थामा निजी क्षेत्र र समग्र देशले विज्ञ र काम गर्न सक्ने अर्थमन्त्री खोजेको छ । प्रचण्ड सकेसम्म काँग्रेसभित्रबाट आफूले चाहेको पात्र ल्याउने कसरतमा अडिक भएर लागेका छन् ।

गगनलाई अर्थ सुम्पिन देउवा तयार छन् ?

काँग्रेस सभापति शेरबहादुर देउवा डा प्रकाशशरण महत वा ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई अर्थमन्त्री बनाउन चाहिरहेका छन् । उनी गगन थापालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने पक्षमा छैनन् । यसअघि पार्टी चुनावका बेला नेता गगन र विश्वप्रकाशले आफू विरुद्ध गरेको मोर्चाबन्दी देउवाले भुलेका छैनन् । गगन संसदीय दलको नेतामा देउवालाई चुनौती दिने व्यक्ति हुन् ।

अर्थमन्त्री कसलाई बनाउने भन्नेमा सभापति देउवाभन्दा पनि उनकी पत्नी आरजु राणाको निर्णय हाबी हुने भएकाले शेखर–गगन समूहबाट अर्थमन्त्री बन्ने सम्भावना नरहेको पनि बताइन्छ । आरजुले उदयशमशेर राणालाई चाहेको चर्चा छ । विनोद चौधरीले पनि अर्थमै आँखा लगाएका छन् । अर्थ नपाए उद्योगमन्त्री बन्ने दाउमा चौधरी छन् । 

विष्णुप्रति प्रचण्डको कटाक्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने क्रममा अर्थतन्त्र गतिलो अवस्थामा नरहेको सङ्केत गरे । उनी त्यहाँ एमाले नेता विष्णु पौडेलप्रति आक्रामक रुपमा देखिएका थिए । 

प्रधानमन्त्रीले उनकै मन्त्रिमण्डलमा केही महिना अर्थमन्त्री बनेका पौडेललाई आफैँ अर्थ मन्त्रालयको जिम्मेवारीमा रही केही दिन अघि मात्रै राजीनामा दिएर हिडेका हुनाले अर्थतन्त्र कस्तो अवस्थामा छ भन्नेबारे जानकार हुनुपर्ने र यसको अपजस वर्तमान सरकार र गठबन्धनलाई थोपर्न नहुने तर्क गरे ।

त्यसबेला प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै केही सूचकहरु पनि सुनाए । अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको, तरलता सङ्कुचनको स्थितिमा सुधार भएको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह र पर्यटन आगमनमा उत्साहजनक प्रगति भएको र ब्याजदर घटिरहेको प्रधानमन्त्रीको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved