
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच पदोन्नती भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताए ।
प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गरे ।
उक्त अवसरमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लगत्तै प्रधानमन्त्रीसँग भेट
दर्ज्यानी चिन्ह पाएलगत्तै ५ जना एआईजीहरुलेसामहिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले बढुवा भएका एआईजीहरुलाई बधाई दिँदै सरकारको सुशासन र समृद्धिको अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।