३ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण पाउन स्टार्टअपले कसरी दिने आवेदन, के चाहिन्छ कागजात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 10:11:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्टाटर्अप उद्यम कजार्का लागि परियोजना प्रस्ताव पेश गर्न आज माघ १९ गते सार्वजनिक सूचना प्रकाशन गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि बमोजिम सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको हो ।

कार्यविधिमा स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्ने व्यवस्था बमोजिम प्रतिष्ठानले आवेदन आह्वान गरेको हो। कार्यविधिमा स्टार्टअप उद्यमको रूपमा सञ्चालन गर्न सकिने उद्यमका १६ वटा क्षेत्र तोकिएका छन्। 

कार्यविधि बमोजिम स्टार्टअप कर्जाकोषको संचालन सरकारी स्वामित्वको वाणिज्य बैङ्कबाट हुनेछ ।  कार्यविधि बमोजिम बढीमा पच्चिस लाख सम्मको कर्जा बैक मार्फत प्रदान गरिन्छ । कर्जाको लागि परियोजना नै धितो राखिन्छ । कर्जाको ब्याजदर बार्षिक तीन प्रतिशत हुनेछ। बैकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुइ किस्ता र सो भन्दा माथि पच्चीस लाख सम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ । 

कुन क्षेत्रका स्टार्टअपले आवेदन दिन पाउँछन् ?

(क) कृषि तथा पशुपन्छीसँग सम्बन्धित,

(ख) वन पैदावारसँग सम्बन्धित,

(ग) पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित,

(घ) विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित,

(ङ) मानव स्वास्थ्य सेवासँग सम्बन्धित,

(च) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित,

(छ) सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित,

(ज) अटोमोबाइलसँग सम्बन्धित,

(झ) परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित,

(ञ) खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित,

(ट) घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित,

(ठ) खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित,

(ड) फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धित,

(ढ) विपद व्यवस्थापनसँग सम्बन्धित,

(ण) वैकल्पिक तथा नवीकरणीय उर्जासँग सम्बन्धित,

(त) जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित ।


कस्ता स्टार्ट अप योग्य हुन्छन् ?

 निवेदन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका देहाय बमोजिमका मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुनेछन् ।

(क) कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन विध एवम् सृजनशील सोचको प्रयोग गरेको,

(ख) कुल चुक्ता पूँजी दुई लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म भएको,

(ग) उद्यमको कुल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको,

(घ) स्थिर पूँजी (घर जग्गाको मूल्य बाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको ।

माथि जुनसुकै कुरा लेखिएको भएतापनि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन :

(क) प्रचलित कानून बमोजिम दर्ता नभएको,
(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(घ) होल्डिङ्ग तथा लगानी कम्पनीको रूपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको ।


प्रस्तावमा के के समावेश गर्नु पर्छ ?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको अनुसूची-१ बमोजिमको ढाँचामा प्रतिष्ठानमा परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ ।
तर, एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाइनेछैन । पेश भएका प्रस्तावमा उल्लेख भएको विवरण तथा संलग्न कागजात ठीक साँचो हो भनी सम्बन्धित प्रस्तावकले स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणा झुटो रहेको पुष्टि भएमा त्यस्तो प्रस्ताव जुनसुकै बखत रद्द हुनेछ र प्रचलित कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा लेखी पठाइनेछ।यस्ता प्रस्तावक भविष्यमा स्टार्टअप उद्यम कर्जाको लागि आवेदन पेश गर्न अयोग्य हुनेछन् ।

प्रस्तावको साथमा के के कागजात समावेश गर्नु पर्छ ?

उद्योगको दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि,
स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,·
अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, फर्म/कम्पनी वा उद्योगको आधिकारिक प्रतिनिधिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पूर्णकालीन कामदारको विवरण,
IT (Information Technology) को उपयोग र Innovation को प्रमाण ।

प्रस्तावको ढाँचा कहाँ छ ?

परियोजना प्रस्तावको ढाँचा प्रतिष्ठानको वेबसाइट www.iedi.org.np बाट डाउनलोड गरी भर्न सकिनेछ। परियोजना प्रस्ताव प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा कार्यालय समयभित्र हार्डकपी (Hardcopy) नै बुझाउनुपर्नेछ ।

कर्जा कसरी प्राप्त हुन्छ ?

कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गरिनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्ष हुनेछ । साँवा र ब्याज वापतको रकम ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट फिर्ता गर्न प्रारम्भ गर्नुपर्नेछ।
कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुनेछ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुई किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ। प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्ट्याइँसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनेछ । बैङ्कले स्वीकृत परियोजना नै धितोको रूपमा राख्नेछ । परियोजनाको बीमा उद्यमी स्वयंले गर्नुपर्नेछ।

छनौट भएको कसरी थाहा हुन्छ ?


सर्टलिस्टिङमा परेका, प्रस्तुतीकरणका लागि योग्य भएका र अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण वेबसाइट www.iedi.org.np मा राखिनेछ ।

थप जानकारी कहाँ लिने ?

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
त्रिपुरेश्वर, काठमाडौँ
फोन नं. : ०१–५३६१३३९, ५३६६१६२
बेवसाइट : www.iedi.org.np

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved