महाशिवरात्रीको अवसर पारेर आज सोमबार साँझदेखि बागमतीमा पानीको बहाब बढाईने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषले बागमतीमा पानीको बहाब बढाउन लागेको जानकारी दिएका हुन् ।
समितिले सुन्दरीजलको पानी सोमबार साँझ ७ बजेदेखि बागमतीमा छोडेर नदीको बहाब बढाउने भएको हो । आज सोमबार साँझ देखि शुक्रबार साँझसम्म थप पानी पठाइने समितिका सूचना अधिकारी उद्धव नेपालले बिजपाटीलाई जानकारी दिए । उनले पानीको बहाब बढ्ने भएकोले तटिय क्षेत्रमा रहेका वासिन्दाहरुलाई सतर्कता अपनाउन पनि अनुरोध गरेका छन् ।
उनका अनुसार सुखायाममा हुने ९ वटा पर्वमा सुन्दरीजलको पानी पठाएर बागमतीमा पानीको बहाब बढाउने गरिएको रहेको छ । सोहि अनुसार महाशिवरात्रीको अवसरमा पनि थप पानी पठाएर नदीको बहाब बढाउन लागिएको उनले बताए ।
समितिले नेपाली नयाँ वर्ष , राम नवमी, माधव नाराययणको मेलाको सुरु र अन्तिम दिन, हरिवोधनी एकादशी, माघेसंक्रान्ती, छठ पर्व, माता तिर्थ औशी, र महाशिवरात्री अवसरमा बागमतीको बहाब बढाउने गरेको छ।