उर्जा मन्त्रीको दाबी 'भारतसँग सम्झौता नवीकरण प्रक्रियामा छ, नेपालमा लोडसेडिङ हुँदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 04:17:34 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भन्ने हल्ला निराधार रहेको बताएका छन्। बुधवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले विभिन्न मिडियामा समाचारहरू आए जस्तो लोडसेडिङ हुने अवस्था नरहेको दाबी गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको संचालक समितिका अध्यक्ष समेत रहेका उनले भारतसँग छिट्टै विद्युत् खरिद सम्झौता नवीकरण हुने विश्वास समेत व्यक्त गरेका छन् । हरेक वर्ष  भारतको प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले यो वर्ष पनि नवीकरणको लागि प्रक्रिया जारी रहेको उनले बताए । नवीकरणको लागि प्रक्रियागत काम चलिरहेकोले छिट्टै भारतसँग विद्युत खरिदको लागि सम्झौता हुने उनको भनाई थियो । 

उनले बाहिर आएजस्तो भारतले सम्झौता नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । यद्यपि सजग रहनु पर्ने उनको भनाई थियो 

भएको के हो ?

 भारतले नेपाललाई बिजुली दिने सम्झौता नवीकरण गर्न आनाकानी गरेपछि नेपालमा लोडसेडिङको जोखिम बढेको विषय संचारमाध्यमहरुले उठान गरेका हुन् । यहि चैत १८ गतेसम्म नवीकरण हुनुपर्ने भएपनि अहिलेसम्म सकारात्मक जवाफ नआएपछि नेपालमा लोडसेडिङको जोखिम बढेको हो।

 भारतले आफ्नो विद्युत ब्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न आनाकानी गर्दा नेपालमा लोडसेडिङको जोखिम बढेको हो।  भारतमा २०८१ बैशाख ५ गते शुरु भएर ६ हप्तासम्म विभिन्न चरणमा हुन गईरहेको लोकसभा निर्वाचनको लागि विजुली धेरै चाहिने बहानामा सम्झौता नवीकरण नगरिएको जवाफ त्यहाँका अधिकारीले दिएको नेपाल विद्युत प्राधिकरण स्रोतले जनाएको छ।

 भारतले सम्झौता नवीकरणमा आनाकानी गरेको यो पहिलो पटक भएको समेत स्रोतले बतायो।  नेपालमा भएको पछिल्लो सत्ता समीकरणका कारण भारतले सम्झौता नवीकरण नगरेको आशंका गरिएको छ। तर प्राधिकरण स्रोतका अनुसार भने यस्तो आशंका पुष्टि हुने कुनै आधार भेटिएको छैन।

 भारतले २०७७ चैतमा पहिलोपटक इन्डियन इनर्जी एक्सचेन्जबाट नेपालले बिजुली किन्न सक्ने गर्ने अनुमति दिएको थियो। सम्झौताअनुसार नेपालले ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन र महेन्द्रनगर टनकपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत बिजुली आयात गर्न पाउँछ।

 प्राधिकरणकाअनुसार अहिले हिउँदमा करिब ६०० मेगावाट बिजुली भारतबाट आयात भईरहेको छ। अहिले पिक आवरको माग १ हजार ८५५ मेगावाट रहेको छ। मागको एक तिहाई बिजुली उपलब्ध नभए लोडसेडिङ गर्नुपर्ने स्थिति आउनेछ। यस्तो अवस्थामा घरपरिवार भन्दा औद्योगिक क्षेत्रमा बिजुली कटौती हुन् सक्नेछ। औद्योगिक क्षेत्रमा बिजुली कटौतीले पनि नपुगे त्यसपछि घर परिवार (उपभोक्ता) को लागि लोडसेडिङ हुनेछ। यद्यपि मन्त्री बस्नेतले भने जस्तै भारतले सम्झौता नवीकरण गरेमा भने लोडसेडिङको अवस्था आउने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved