नयाँ सत्ता गठबन्धनप्रति उद्योगी व्यवसायीका के छन् आशा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 06, 2024 | 05:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता फेरबदल र नयाँ सत्ता समिकरण निर्माणले निजी क्षेत्र हौसिएको पाइएको छ । खासगरि, नेकपा एमालेको सत्तारोहणलाई उद्योगी व्यवसायीले रुचाएका छन् । मन्त्रालय जुन जुन लिए पनि नेकपा एमालेसमेत सामेल भएको सरकारले नीतिगत रुपमा उद्योग व्यवसाय प्रतिकुल हुने खालका कदम चाल्दैन भन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ ।

यससँगै, आशा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयमा युवाहरुलाई पठाएको र ‘रिजल्ट वरियन्टेड युथ’हरुले निर्णायक तहमा भूमीका पाएकाले पनि निजी क्षेत्र थप आशावादी देखिएको छ । निजी क्षेत्रका तीन ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नै नयाँ गठबन्धनले आशाको सञ्चार गराएको प्रतिक्रिया दिएका छन् ।

पञ्चवर्षीय योजना, बजेट र मौद्रिक नीतिबीच तालमेल हुने अपेक्षा छः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रले सधैँ सरकारप्रति विश्वास नै गरिरहेको र नयाँ गठबन्धनबाट पनि निजी क्षेत्रमैत्री वातावरणको आशा गरेको बताएका छन् । अर्थतन्त्रलाई स्थायित्व दिने गरि नयाँ गठबन्धनले कदम चालोस् भन्ने अपेक्षा रहेको उनको भनाई छ । 

त्यसैगरि, अब बन्न लागेको मुलुकको आवधिक योजना अर्थात् १६औँ पञ्चवर्षीय योजना, सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेट र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने अध्यक्ष मल्ल बताउँछन् ।

‘अहिले १६औँ पञ्चवर्षीय योजनाको ड्राफ्ट बन्दैछ, यसकारण पञ्चवर्षीय योजना, सरकारले ल्याउने बजेट र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिबीच तालमेल हुनुपर्छ’ उनले भने, ‘नेतृत्व परिवर्तन हुनासाथ नीति परिवर्तन हुनु भएन । हामीले सबै क्षेत्रसँग तालमेल हुन्छ र अर्थतन्त्रले लय समात्ने छ भन्ने आशा गरेका छौँ ।’

उनले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको नभई कार्यान्वयन हुने खालको बजेट ल्याउन पनि सुझाव दिए । साथै, विकास बजेट खर्च हुन नसक्नुको कारणबारे सुक्ष्म अध्ययन गरेर विकास बजेट खर्च गर्न ‘एक्सन प्लान’ नै बनाएर जानुपर्ने सुझाव पनि दिएका छन् ।

मन्त्रिमण्डलमा नयाँ अनुहार पनि देखिने भएकाले युवा नेतृत्वबाट आशा गर्न सकिने ठाउँ रहेको समेत अध्यक्ष मल्लको भनाई छ ।

‘युवाहरुबाट आशा गर्ने ठाउँ छ, तर पूरानो बोतलमा नयाँ रक्सी भन्ने उखान जस्तो नहोस्, सबै हिसाबले फ्रेस बनोस् र निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण बनोस् बन्ने हाम्रो चाहना छ’ अध्यक्ष मल्लले थपे ।

खस्किएको मनोबल उकास्ने आशा छः वीरेन्द्रराज पाण्डे

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नयाँ सरकारले आर्थिक मुद्दाहरुलाई प्रमुख एजेण्डा बनाउने विश्वास व्यक्त गरेका छन् । आर्थिक विषय र अर्थतन्त्रका मुद्दाहरुमा सबैभन्दा धेरै बहस र छलफल भए मात्रै मुलुकको आर्थिक नीतिले स्थिरता पाउने भन्दै उनले नीतिगत स्थिरताको अपेक्षा पनि नयाँ सत्ता गठबन्धनबाट गरिएको बताए ।

उनले औद्योगिक क्षेत्रलाई ‘प्रोमोट’ गर्ने कुरामा पनि आशा गर्न सकिने ठाउँहरु रहेको बताए । यस्तै, नयाँ सरकारले विकासलाई केन्द्रमा राखेर लगानी बढाउने र खस्किएको निजी क्षेत्रको मनोबल उकास्छ भन्ने अपेक्षा गरिएको उपाध्यक्ष पाण्डेको भनाई छ ।

‘विश्वासको वातावरण बन्दै जान्छ भन्ने आशा पलाएको छ, निजी क्षेत्रले विश्वासको वातावरण बन्यो भन्ने अनुभूति गरे मात्रै विदेशी लगानी आउँछ’, उनले भने, ‘विदेशी लगानी आकर्षित गर्न पनि स्वदेशी लगानीकर्ताको विश्वास बढ्नुपर्छ । यतातर्फ पनि केही सुधार हुन्छ भन्ने अपेक्षा छ ।’

साथै, सरकारले बजेटको तयारी सुरु गरिसकेको अवस्थामा मन्त्रीहरु फेरबदल र गठबन्धन नै नयाँ बन्दा स्थिरितामा केही समस्या ल्याउँछ कि भन्ने सन्देह रहे पनि नेतृत्व उहीँ कायम रहेकाले कुनै बाधा नपर्ने विश्वास आफूहरुले लिएको उपाध्यक्ष पाण्डेले बताए ।

प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सुमधुर समन्वय हुने विश्वास छः हेमराज ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नयाँ गठबन्धन बनेपछि विगतमा जस्तो सरकारका अंगहरुबीच नै समन्वय नहुने समस्या हट्ने विश्वास व्यक्त गरेका छन् । खासगरि, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सुमधर समन्वय हुने विश्वास निजी क्षेत्रले गरेको उनको भनाई छ ।

उनले नोटबन्दी गरेर प्रणालीभन्दा बाहिर बसेको पैसालाई च्यानलमा ल्याउन समेत सरकारसँग माग गरेका छन् । साथै, उत्पादनका लागि आयात गर्नुपर्ने कच्चापदार्थ र तयारी वस्तुको आयातमा तहगत भन्सार दर कायम गरि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने समेत उनको माग छ ।

उनले नगद अनुदानबापत पाउनुपर्ने उद्योगीहरुको पैसा, निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकमको भूक्तानी पनि हुने आशा व्यक्त गरेका छन् । डिजिटल इकोनोमीलाई प्रश्रय दिँदै सरकारले यसमा लगानी बढाउनुपर्ने उनको सुझाव पनि छ ।

उनले नयाँ सरकारमा युवाहरु पनि सहभागी भएकाले केही गर्नुपर्छ भन्ने हुटहुटी भएका युवाहरुको जोश र उनीहरुले अपनाउने विश्व स्तरीय प्रविधिले निकै धेरै रिजल्ट निस्किन्छ भन्ने आशा गर्न सकिने बताएका छन् ।

साथै, निजी क्षेत्रले लगानीमैत्री वातावरणका लागि २४ वटा कानुनको संशोधन, ५ वटाको खारेजी र २ वटा नयाँ कानुन ल्याउन सुझाव दिएकाले यसतर्फ पनि नयाँ सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

अघिल्लो सरकारले गरेका त्रुटी सच्याउँछ भन्ने आशा छः शशिकान्त अग्रवाल

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले नयाँ सरकारले विगतका सरकार र अघिल्लो सरकारका पालामा भएका त्रुटीहरु सच्याउने अपेक्षा गरिएको बताए । उनले पद बाहिर बसेर सरकारका मन्त्रीहरुको कार्यशैली हेरिरहेका सांसदहरुले धेरै त्रुटी पहिल्याउने भएकाले अब विगतमा पद बाहिर रहेर मन्त्रीहरुका त्रुटी देखेका सांसदहरु मन्त्री भएकाले नयाँ मन्त्रीबाट आशा गर्न सकिने धेरै ठाउँहरु रहेको बताएका हुन् ।

नेपालको अर्थतन्त्रलाई माथि उकास्न धेरै काम गर्नुपर्ने र ति काम गर्न सक्ने इच्छाशक्ति भएका व्यक्तिहरु मन्त्री बनेकाले आफूहरुले उत्साहका साथ परिणाममुखी र सकारात्मक नतिजाको अपेक्षा गरेको अध्यक्ष अग्रवालले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved