ईद : आर्थिक रुपमा मानवहितको मोडल पनि हो, खुसि साट्ने पर्व मात्र होइन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2024 | 01:45:04 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्लामिक जीवन व्यवस्थामा विश्वास राख्ने विश्वका धेरै मुलुकका मुस्लीम समुदायले बुधबार नै इद मनाईसकेका छन तर नेपाल लगायतका केहि देशमा बिहिबार इद मनाइने भएको छ। ईद पर्वको दिन मुस्लिम समुदायका बिशेषगरि पुरुषहरु बिहानको समय (प्राय जसो बिहान ८ बजेदेखि १० बजेसम्म) खुला मैदानमा (जसलाई अरेबिकमा इद गाह भनिन्छ) मा जम्मा भई सामुहिक रुपमा ईदको नमाज पढ्ने गर्दछन। र नमाज सकिएपछि नमाजमा सामेल सबैजना एक अर्कालाई गला (अँगालो हालेर) मिलाएर ईदको शुभकामना दिने गर्दछन भने एक अर्कासंग माफी लिने दिने पनि गर्दछन। 

एक अर्कालाई शुभकामना लिने दिने कर्म सकिएपछि  सामुहिक रुपमा नै सबै जना मिलेर सबैको घर घरमा पुग्छन। र त्यहाँ पुगेर घरका मानिसले उपलब्ध गराउने मिठा मिठा परिकार खाने र घर परिवारका सदस्यहरुलाई ईदको शुभकामना दिने गर्दछन। 

झट्ट हेर्दा ईदको पर्व ३० दिन रोजा अर्थात भोको पेट बसेपछि मनाइने एउटा पर्वको रुपमा अर्थ्याउने गरिन्छ र अधिकांशले बुझेको पनि यसै गरि छ। तर अरेबिक क्यालेन्डरको नौं महिना जसलाई रमदान (रमजान) भनिन्छ, यो महिनामा राखिने रोजा अर्थात व्रत पेट भोको राख्ने भन्दै अरु धेरै कुराले बिशेष छ। 

रोजा अर्थात व्रत भनेको मात्र पेटको मात्र हुँदैन। हाम्रा कान, आँखा, जिब्रोको मात्र होइन सोच र व्यवहारको पनि रोजा अर्थात व्रत हुने गर्दछ रामजन महिनामा।  जसरी बिहानको सुर्यदय अगाडीदेखि बेलुका सुर्यास्तसम्म पेटलाई खानपिनबाट टाढा राखिन्छ त्यसैगरि यो समय हामीले हाम्रा आआङ्खा, कान, जिब्रोलाई मात्र नभई सोच र व्यवहारलाई पनि इस्लामिक कानुनले गलत ठानेका कुराबाट टाढा राखिन्छ र राख्नुपर्ने हुन्छ । 

जिब्रोले झुटो वा गालि गर्ने हुनु भएन, आँखाले गलत कुरा हेर्न र देख्न भएन भने कानले गलत कुरा सुन्न भएन। यति मात्र नभई हाम्रो सोचलाई पनि गलत सोचमा सामेल राख्नु भएन। त्यसैले रमजान महिनाको रोजा भनेको पेटलाई खानपिनबाट टाढा राख्नु मात्र नभई इस्लामले वर्जित गरेका व्यवहार र सोचबाट पनि टाढा राख्नु हो। 

इस्लामिक कानुनले वर्जित गरेका कुराबाट बच्नुमात्र नभई इस्लामिक कानुनले गर्नु भनेका काम कुराहरु गर्नुपनि रमजान महिनाको अर्को उदेश्य हो। यस महिनामा जति सक्दो बढी दान दक्षिणा गर्ने, आर्थिक सहयोग गर्ने, गरिब गुरुवालाई खाना खुवाउने तथा लत्ता कपडा उपलब्ध गराउने, जस्ता कार्य गर्नुपर्ने हुन्छ र मुस्लिम समुदायका मानिसहरुले गर्नेपनि गर्दछन। 

एक महिनाको यो कठिन व्रत सकेर ईदको नमाज पढ्नु अगाडी आर्थिक रुपमा सवल प्रत्येक मुस्लिमले आफ्नो हिस्साको केहि रुपैयाँ छुट्टयाउने गर्दछन, जसलाई सद्कतुल फित्र र बोलीचालीको भाषामा 'फित्रा' पनि भन्ने गरिन्छ। 

प्रत्येक व्यक्तिले पौने दुई किलो गहुँको पिठो बराबरको (कसैले साढे तीन किलो) पैसा छुट्याउने गर्दछन, यस वर्ष यो रकम डेढ सय रुपैयाँ तोकिएको छ (केहि ठाउँमा केहि तलमाथि हुन सक्छ)। यसरी छुट्याइएको पैसा आफ्नो परिवारमा जो सबैभन्दा कम्जोर आर्थिक अवस्थाको छ, त्यसलाई दिनुपर्ने हुन्छ।  यदी आफ्नो परिवारमा छैन भने आफ्नो छिमेकीलाई दिनुपर्ने हुन्छ। 

यसरी छुट्याइएको रकम (जसलाई सद्कतुल फित्र भनिन्छ) आफ्नो निकटको लाई दिनु भनेको आफुसंगै आफु निकटका मानिसहरुले पनि इदको खुसि मनाउन पाउन भन्ने रहेको इस्लामिक संघ नेपालका अमिर (अध्यक्ष) मौलाना नजरुल हसन फलाही बताउछन।  यो अभ्यासलाई उनि 'आर्थिक रुपमा मानवहितको उत्कृष्ट नमुना' को रुपमा ब्याख्या गर्छन। 

उनकाअनुसार सद्कतुल फित्र  पौने दुई वा साढे तीन किलो गहुँको पिठो बराबरको रकम छुट्याउने भनिएपनि यो न्युनतम मात्रै हो। आफ्नो दक्षता र क्षमताअनुसार मुस्लिमहरुले बढी भन्दा बढी रकम पनि सद्कतुल फित्र बापत छुट्याएर आफु निकटका आवश्यक व्यक्ति वा परिवारलाई सहयोग गर्नुपर्ने हुन्छ। यसले समाजमा एउटाले पर्व मनाउदा नहुने वा हुँदा खाने परिवार, छिमेकीलाई पनि पर्व मनाउने अवसर दिने र यसले भविष्यका दिनमा आफुसंगै अरुलाई पनि पर्व मनाउन सक्ने बनाउनुपर्छ भन्ने मानसिकता स्थापित गर्ने भएकाले यसलाई एउटा गतिलो नमुनाको रुपमा लिन सकिन्छ र लिनुपर्ने हुन्छ। 

त्यतिमात्र नभई पछिल्लो समय मुस्लिम समुदायका ती व्यक्ति जो बिभिन्न आयआर्जनमा लागेका छन् र आर्जन गरेका छन्, उनीहरुले आफ्नो कमाईको साढे दुई प्रतिशत रकम छुट्याएर (जसलाई अरेबिकमा जकात भनिन्छ) रमजान महिनामा खर्च गर्ने गर्दछन। यस्तो रकम कारोबार सुरु गरेको ठिक एक वर्षमा छुट्याउनु पर्ने भएपनि अधिकांशले रमजान महिनामा बढी राम्रो हुने विश्वासले यस्तो रकम रमजान महिनामै खर्च गर्ने गर्दछन। 

यसरी छुट्याइएको रकम आर्थिक रुपमा अत्यन्त कम्जोर आर्थिक अवस्था भएकामाथी, बिदुवामाथि, टुहुरामाथि, पिडित गैर मुस्लिममाथि, कर्जामा डुबेकामाथि, यात्रामा दुख अप्ठ्यारो पाएकामाथि, राम्रो काम गर्छु भनेर संस्था बनाएकामाथि,  मसाकिनमाथि, अल्लाहको मार्गमा कर्म गर्न हिडेकामाथि लागायतका तोकिएका आठ अवस्थाकालाई मात्र दिन पाइने इस्लामिक कानुन छ। 

त्यसैले त इस्लामिक व्यवस्थामा आस्था राख्ने मुस्लिम समुदायका मानिसहरु एक महिनाको कठिन व्रत राखेकोमा मात्रै नभई वर्जित चीजबाट टाढा रहेको र गर्नुपर्ने कर्मको बानि बसालेको खुसिमा ईदको पर्व मनाउने गर्दछन।  यो एक महिनाको कठोर वर्तले बाँकी एघार महिनामा पनि त्यसैगरि जीवन यापन गर्न सिकाउने भएकाले रमजानको रोजा र ईदको पर्व सामाजिक सद्भाव र. भाईचारा फैलाउने मात्र नभई आर्थिक रुपमा मानवहितको काम गर्न सिकाउने एउटा उत्कृष्ट नमुनाको रुपमा लिइने गरिन्छ। 

केहि व्यक्तिले ईदमा छुट्याइने सद्कतुल फित्र र अरु बेला छुट्याइने जकात लाई प्रत्येक बर्ष आर्थिक बर्षको अन्तिममा राज्यलाई तिर्ने करको रुपमा पनि व्याख्या गर्छन तर यो कर्मलाई करसंग जोड्न नसकिने र नहुने फलाही बताउँछन।  कर रहरले नभई कर ले राज्यलाई तिर्ने रकम भएपनि फित्रा र जकात आफ्नो मनलाई साक्षी राखेर छुट्याइएको पवित्र रकम भएको  हो। जुन रकम आफु खुसि हुँदा कम्जोर आर्थिक अवस्था भएकालाई पनि खुसि बनाउने एउटा आधार हो र यो स्वत स्फुर्त हुने कुरा पनि भएकाले यसलाई करसंग जोड्न नहुने उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved