नेपाल जग्गा तथा आवास विकास संघको १७ औं साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 05:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल जग्गा तथा आवास विकास संघको १७ औं साधारणसभा आज बुधबार काठमाडौंमा सम्पन्न भएको छ । उद्घाटन सत्रमा संघका अध्यक्ष विदुर धमलाले आफ्नो प्रतिवेदन सहितको मन्तव्य दिदै आफुले कार्यभार सम्हालेदेखि संघमा आबद्ध व्यवसायीहरुको हित हुने कार्य गर्दै आएको बताए।

उनले घर जग्गा मेलालाई निरन्तरता दिइएको, संघको सरोकारको विषयहरुमा नेपाल जग्गा तथा आवास विकास महासंघको नेतृत्वमा सहकार्य गर्दै आएको र संघ तथा रियल इस्टेट व्यवसायीहरुको हित प्रवद्र्धनका लागि सदा प्रतिबद्ध रहने बताए । साथै, उनले आफ्नो नेतृत्वको कार्य समितिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रुपमा संघको १७ औं साधारण सभाको उद्घाटन गर्दै उद्योग तथा वाणिज्य मैत्री नीतिगत तथा कानूनी व्यवस्था गर्न र निजी क्षेत्रले व्यवसायीहरुको हित प्रवद्र्धनका लागि धेरै मेहनत गरेको, निजी क्षेत्रबाट भएको पहल आम जनसमुदायको लागि रहेछ भन्ने सकारात्मक सन्देश प्रवाह भएको, निजी क्षेत्रलाई उत्प्रेरित नगरे मुलुकको विकास नहुने रहेछ भन्ने कुरा सरकार तथा राजनीतिक नेतृत्वले अनुभूत गरेको, लगानी सम्मेलनमा कति लगानी भित्रियो भन्दा पनि नेपालमा लगानीको सम्भावना रहेको छ भन्ने स्पष्ट एवं सकारात्मक सन्देश गएको र महासंघको पहलमा १० अर्व रुपैयाँ पूँजीको पब्लिक कम्पनी स्थापना गरिने भएकोले त्यसबाट स–साना बचत संकलन भई लगानीको सम्भावनाको मार्ग खोलिने धारणा राखे । साथै, उनले रियल इस्टेट व्यवसायीहरुको समस्या समाधानका लागि महासंघ संघसँग सहकार्य गर्ने प्रतिबद्धता प्रकट गरे। 

त्यसैगरी विशेष अतिथिको रुपमा रहेका नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले व्यवसायीहरुले कर्जाको सावाँ ब्याज कसरी तिर्ने भन्ने समस्या भोग्नु परिरहेको अवस्था भए तापनि हामी निराश नभई धैर्यता राखेमा भविष्यमा सुधार हुने अपेक्षाका साथ आ–आफ्ना उद्योग व्यवसायहरुलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

विशेष अतिथिको रुपमा उपस्थित एफएनसीसीआईका वस्तुगत तर्फका अध्यक्ष हेमराज ढकालले रियल इस्टेट व्यवसाय विकासको एैना रहेकोले , यसको विकास भए मात्र आर्थिक विकास हुने र हाम्रो जस्तो अव्यवस्थित बसोबास भएको मुलुकमा रियल इस्टेट उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले संघको सरोकारको विषयमा महासंघको सहयोग रहने प्रतिवद्धता जनाए  ।

त्यसैगरी विशेष अतिथिको रुपमा उपस्थित भएका नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले हालका दिनहरुमा रियल इस्टेट क्षेत्रमा नैराश्यता देखिएकोले यसमा सुधार ल्याउनका लागि हदबन्दी छुट दिने, विदेशीहरुलाई अपार्टमेण्ट बिक्री गर्ने, ल्याण्ड पुलिङ्ग आयोजनाहरु निजी क्षेत्रलाई सञ्चालन गर्न दिने जस्ता विषयहरुको सम्बोधन गर्न कानून व्यवस्था गर्नुपर्र्नेे, कर्जामा एकल ब्याजदर कायम राखी राख्नुपर्ने र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने धारणा राख्दै महासंघले संघसँग समन्वय राखी सहकार्य गर्ने प्रतिवद्धता प्रकट गरे  । 

सभामा संघको प्रथम उपाध्यक्ष दिपक कुँवरले स्वागत मन्तव्य दिएका थिए।  सभामा संघको कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल जग्गा तथा आवास विकास महासंघका कार्य समितिका पदाधिकारी, कार्यकारिणी सदस्य तथा सल्लाहकारहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाले महासचिव रोशन भोयद्योबाट प्रस्तुत आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीबाट प्रस्तुत आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष विदुर धमलाले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू प्रयाशरत रहने प्रतिबद्धता प्रकट गरेका छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved