बागमती अञ्चलमा दुई पांग्रे सवारीको दर्ता रोकिएको छ। सरकारको लापरवाहीका कारण दशैंको मुखमा नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको हो ।
९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको लट नम्बर राख्ने कानुन नै नभएकोले दर्ता रोकिएको हो । बाइक र स्कुटीको नम्बरमा सबैभन्दा पहिले सवारी दर्ता भएको अञ्चलको कोड रहन्छ । त्यसपछि लट नम्बर रहन्छ जुन १ देखि ९९ सम्मको हुन्छ । लट नम्बरपछि सवारीको किसिम जनाउने संकेत अक्षर र त्यसपछि सवारीको दर्ता नम्बर लेखिन्छ ।
तर १ देखि ९९ लटमा अटाउन सक्ने सबै ९९९९ सवारी दर्ता भईसकेको यातायात ब्यबस्था बिभागले जनाएको छ । यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था गरेकोले लट नम्बर १०० राख्न समस्या भएको हो । अब नियमावलीमा संशोधन नभएसम्म बैक र स्कुटी दर्ता हुन् सक्ने छैन ।
बिभागले लट नम्बर तीन डिजिटको बनाउन भदौ १७ गते संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको बिभागका प्रबक्ता गोकर्ण उपाध्यायले जानकारी दिए । त्यहाँबाट केहि ब्यबस्था परिमार्जन गर्नको लागि निर्देशन आएकोले त्यसै अनुसार संशोधन सहित नियमावली पुन पठाएको उनले बताए । तर हालसम्म मन्त्रिपरिषदले नियमावली संशोधन प्रस्ताव पारित नगरिदिदा सेवाग्राही मर्कामा परेका छन् ।
मन्त्रिपरिषदले पारित गरेर नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र नयाँ दर्ता सुचारु हुने छ । प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन गएपछि मन्त्रिपरिषद् बैठक बसेको छैन। अब मन्त्रिपरिषदको नियमित बैठक असोज २१ गते मात्रै बस्दैछ ।
सामान्यतया दशैँ अगाडी धेरैले बाइक तथा स्कुटी खरिद गर्ने गर्छन । तर सरकारी ढिला सुस्तीका कारण उनीहरुले आफुले खरिद गरेको बैक दर्ता गर्न पाएका छैनन । यसले सेवाग्राही मात्र नभई सवारी व्यबसायी पनि मर्कामा परेका छन् । सरकारले समय मै निर्णय नगर्दा पिक सिजन मै ब्यापारी पनि समस्या भोग्न बाध्य भएका छन् ।