बैंकहरुलाई प्रगति विवरण प्रकाशनमा एक महिना थप, अपेक्षा भन्दा फरक रिपोर्ट आउन सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 02:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्न एक महिनाको थप समय पाएका छन। बैंकहरुले एनएफआरएस मापदण्ड अनुसार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले उनीहरुलाई एक महिनाको थप समय दिईएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत लागू गरेको एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण सार्वजनिक गर्न बैंकहरुलाई समय लाग्ने भएकाले बैकहरुकै अनुरोधमा १५ दिनको थप समय दिइएको राष्ट्र बैंकले जनाएको छ। 

बैंकर्स संघको अनुरोधमा नै सोमबार परिपत्र गरी थप १५ दिन समय प्रदान गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिजपाटीलाई जानकारी दिए। यस व्यवस्था अनुसार आर्थिक वर्ष अन्त्य भएको ३० दिन भित्र वित्तीय विवरण सार्बजनिक गरे हुने भएको छ।

नेपाल राष्ट्र बैंकले गत मंसिर १४ गते निर्देशन जारी गर्दै बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरणमा एनएफआरएस मापदण्ड अनुसार प्रकाशन गर्न भनेको थियो । पहिलो चरणमा आर्थिक वर्ष २०७४/७५ देखि ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एनएफआरएस लागू गरिएको हो । यसपछि विकास बैंक र फाइनान्स कम्पनीमा पनि याे मापदण्ड लागू हुने केन्द्रीय बैंकले जनाएकाे छ ।

सार्क मुलुकहरूमा अहिले श्रीलंकाले एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण प्रकाशित गर्दे आएको छ । यो पद्धतीअनुसार वित्तीय विवरण तयार पर्दा विश्वले नै बुझ्नसक्ने भएकाले अन्तर्राष्ट्रिय मान्यतालाई नेपालले पनि अवलम्बन गरेको हो । 

यस अघि आर्थिक बर्ष समाप्त भएको १५ दिनभित्रै बैंकहरुले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशित गरि एक/एक प्रति नियमन विभाग र सम्बन्धित सुरपरिवेक्षण विभागमा बुझाउनुपर्ने व्यवस्था थियो। 

गत आर्थिक बर्ष समाप्ति लगत्तै बैंक बित्तिय संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गर्ने गर्दथे। अब भने बैंकहरुले भदौ पहिलो सातादेखि गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्नेछन। यद्दपी नेपाल बैंक र सिटिजन बैंकले पुरानै ढांचामा गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तर अब उनीहरुले पनि फेरी नयाँ ढाँचामा वित्तीय विवरण प्रकाशित गर्नु पर्ने छ।    

नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था (प्रोभिजनिङ) र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा/नोक्शानको गणना गर्नुपर्ने हुन्छ। यसले प्रोभिजनिङ र आम्दानीमा असर पार्ने हुँदा बैंकहरुको वित्तीय विवरण आंकलन गरे भन्दा फरक आउन सक्ने विश्लेषण गरिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved