यस्तो छ अरुण हाइड्रोको एफपीओ बिकाउन गुरु प्रसाद न्यौपानेको 'गुरु योजना'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 08:49:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ जलबिद्युत आयोजनाका लागि लगानी जुटाउन भन्दै थप पुंजी संकलन गर्न फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशनको तयारीमा रहेको अरुण हाइड्रोले एफपीओमा आकर्षण बढाउन पुरानै तरिका अपनाएको खुल्न आएको छ। 

गुर प्रसाद न्यौपाने परिवारको बाहुल्यता रहेको अरुण हाइड्रोपावरले सम्पती बिक्रि गरेर भएपनि गत बर्ष झैँ यस बर्षपनि १० प्रतिशत बोनस सेयर बाड्ने तयारी गरेको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। कम्पनीले बानेश्वर मिलन चोकमा रहेको घर जग्गा आफ्नै अर्को संस्थालाइ करिब ७ करोडमा बिक्रि गरि बोनस सेयर दिने मिल्ने गरि रकमको जोहो गरेको जानकारीमा आएको छ। 

अरुण हाइड्रोले प्रस्तावित ३१ लाख कित्ता एफपीओ बिकाउनकै लागि बल्लबल्ल रकमको जोहो गरेर गत बर्षको नाफा भन्दै १० प्रतिशत बोनस सेयर दिने नाममा सर्वसाधारणलाई झुक्याउन खोजेको आशंका गरिएको छ। रकमको जोहो गर्न कम्पनीले रिडी हाइड्रोको करिब १ लाख ८० हजार कित्ता संस्थापक सेयर समेत आफ्नै अर्को संस्थालाई बिक्रि गरेको स्रोतले जनाएको छ।    

अघिल्लो आर्थिक बर्षपनि अरुण हाइड्रोले सम्पती बिक्रि गरी रकमको जोहो गरेर १० प्रतिशत बोनस सेयर खुवाउन सफल भएको खुल्न आएको थियो। अरुण भ्यालीले १ बराबर १ का दरले हकप्रद जारि गरेर ३० करोड ४९ लाख रुपैयाँबाट ६० करोड ९८ लाख रुपैयाँ पुर्याएको थियो। त्यतिबेला पनि सेयरको भाउ प्रतिकित्ता ६०० भन्दा माथि पुर्याएर न्यौपाने समुहले सस्तोमा पहिले किनेको सेयर महँगोमा सर्वसाधारणलाई भिडाएर पैसा कमाएको आरोप लागेको थियो। 

अरुण हाइड्रोले हाल कायम चुक्ता पुंजीबाट डेढ अर्ब पुर्याउनका लागि ३१ लाख कित्ता एफपीओ बिक्रि गर्ने तयारी गरेको छ। अरुण भ्यालीले ३१ लाख ५७ हजार ८ सय ८३ कित्ता एफपीओ निष्काशनको तयारी गरेको हो।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०१ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ३०१ रुपैयाँमा एफपीओ निष्काशनको तयारी गरेको हो। यस कार्यका लागि कम्पनीले सिद्दार्थ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।   

एफपीओको नाममा उचालिएर महँगोमा अरुण हाइड्रोको सेयर उठाउन अगाडी लगानीकर्ताले जान्ने पर्ने कुरा के हो भने कम्पनीको प्रति कित्ता आम्दानी अहिले ५ रुपैयाँ ४२ पैसा रहेको छ। अर्को तर्फ एफपीओमा लगानी सुरक्षाको ग्यारेन्टीमा शंका भएकाले नियमन निकाय नेपाल धितोपत्र बोर्डले बेलैमा उचित निर्णय गर्नु पर्ने देखिन्छ।  

अर्को तर्फ यस कम्पनीमा गुरु प्रसाद न्यौपानेको करिब ७ प्रतिशत सेयर रहेको भएपनि संचालक समितिमा भने न्यौपाने परिवारको बाहुल्यता रहेको छ। अरुण हाइड्रोको संचालक समितिमा ७ जना मध्य ४ जना (बाबु (आफु), भतिज, बुहारी र पुत्र) न्यौपाने परिवार रहेका छन। न्यौपाने परिवारको बाहुल्यता रहेको अर्को कम्पनी अपि पावरको २०० प्रतिशत हकप्रद बिकाउन पनि रकमको जोहो गरेर ५ प्रतिशत बोनस दिने नाममा त्यो बेलापनि सम्पति बिक्रि गरिएको थियो। 

कुनै पनि निकायबाट लाभांश प्रस्ताबको स्वीकृती लिनु नपर्ने जलबिद्युत कम्पनीको स्वतन्त्रताको भरपुर सदुपयोग गर्दै न्यौपाने समुहले सम्पती बिक्रि गरि रकमको जोहो गर्ने र त्यसको प्रभाब पारि हकप्रद बिक्रि गर्ने पुरानै 'खेल' लाई अहिले पनि निरन्तरता दिइएको अनुमान गरिएको हो।

कम्पनीले हाल कायम संस्थापक ७० र साधारण समुह तर्फको ३० प्रतिशत सेयर अनुपातलाई संस्थापक ५१ र सर्वसाधारण समुह तर्फ ४९ बनाउन एफपीओ जारि गर्न लागेको बताएको छ। अरुण हाइड्रोले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अरुण हाइड्रोको चुक्ता पुंजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ। एफपीओ जारि गरेपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १६ करोड पुग्ने छ। 

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ ४२ पैसा, नेटवर्थ प्रति सेयर १०४ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात ५३ गुणा रहेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved