इजाजत रद्द भएका रिलायन्स र ओम सिमेन्ट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 05:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भनेर रिलायन्स सिमेन्ट र ओम सिमेन्टको उत्पादन इजाजत नै रद्द गरिदिएको छ । २०७६ साल फागुन १३ गते नै विभागले रिलायन्सको इजाजत रद्द अवस्थामा राखेको थियो । तर इजाजत रद्द भएकै अवधिमा पनि कम्पनीले बजारमा उत्पादन पठाउन नछोडेको पाईएको छ । 

‘फागुनमा इजाजत रद्द गरेपनि असारमा अनुगमन गर्दा फेरि सोही लटको सिमेन्ट बजारमा भेटियो’ विभाग स्रोतले भन्यो, ‘२०७७ असार १ गते गरिएको बजार अनुगमनमा पनि रिलायन्सको पीएससी सिमेन्ट बजारमा भेटिएपछि असार १२ गते पुनः इजाजत रद्द गरिएको छ ।’

इन्टरनेशनल सिमेन्ट प्रा.ली.ले उत्पादन गर्ने ओम ब्राण्डको ओपीसी र पीपीसी सिमेन्टमा पनि खराबी भेटिएको छ । उत्पादनमा खराबी भेटिएपछि विभागले २०७६ साल पौष २० गते नै यो उत्पादनको इजाजत रद्द गरेको थियो । तर २०७७ जेठ २१ गतेको अनुगमनमा पुनः बिक्रि गरिरहेको पाईएपछि २०७७ असार १२ मा यसको पनि इजाजत रद्द गरिएको विभागले जनाएको छ । 

विभागका अनुसार यी दुबै कम्पनीलाई नेपाल गुणस्तर चिन्ह नियमावली २०४० को नियम १६ अनुसार इजाजत अनुमति रद्द गरिएको हो ।

कति थियो उत्पादन ?

रिलायन्स सिमेन्टले आफ्नो उत्पादन बजारमा पहिल्यै गईसकेको र विभागले खराबी प्रमाणित गरेपछि कोरोना भाइरसका कारण फिर्ता ल्याउन नसकिएको बताएको छ ।  कोभिडका कारण सम्बन्धित कर्मचारी नभएका कारण कति मात्रामा उक्त लटमा सिमेन्ट बजार गएको थियो भन्नेबारे आफूलाई जानकारी नहुने कम्पनीकी एक कर्मचारीले बताइन् ।

‘यसबारे हामीलाई जानकारी हुँदैन, मिडियासँग बोल्ने सर बिदामा हुनुहुन्छ’ उनले भनिन् । रिलायन्सले यसबारे एक हप्तासम्म फलोअप गर्दा पनि कुनै उत्तर दिएको छैन । 

ओम ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको इन्टरनेशनल सिमेन्टका कुनै अधिकारीहरु सम्पर्कमा आउन चाहेका छैनन् । 

अबको प्रक्रिया के ? 

पुनः इजाजत पत्र प्राप्तिका लागि कम्पनीले निवेदन दिएमा नयाँ उद्योग सरह सम्बन्धित उद्योगको स्थलगत निरीक्षण गरी नमूना संकलन गर्ने, संकलित नमूना विभागको प्रयोगशालामा परीक्षण गराई सम्पूर्ण प्रक्रिया पूरा गरे पश्चात नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ र नियमावली, २०४० बमोजिम पुनः इजाजत प्रदान गरिने व्यवस्था रहेको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved