न माग, न आपुर्ती, कसरी घट्छ फलामे छडको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 02:16:22 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र ११ देखि मूलुक लकडाउन हुँदा स्टिल उद्योगहरु पूर्ण रुपमा बन्द भए । असार २६ गते लकडाउन खुलेपनि अधिकांश उद्योगहरु अझै सञ्चालन हुन सकेका छैनन् । केही उद्योगले जोखिम मोलेरै भएपनि उद्योग सञ्चालन गर्दा उत्पादित बस्तुको गुणस्तरमा कमी आएका घटना पनि बाहिर आएका छन् । 

उद्योग चलाउन सकिँदैन

कोभिड–१९ को संक्रमण फैलने क्रम जारी रहेका कारण उद्योगहरु सञ्चालन हुन सकेका छैनन् । नेपाल स्टिल रोलिङ मिल एशोसियसनका अनुसार केही उद्योगहरु चलेपनि अधिकांश उद्योग भने पूर्ण रुपमा बन्द अवस्थामा नै छन् । उद्योग सञ्चालन हुन नसक्नुको कारण ‘डर’ नै रहेको उद्योगीहरु बताउँछन् । 

‘सरकारले सिमित कर्मचारीलाई भित्र राखेर उद्योग चलाउन भनेको छ, खाने, बस्ने, सुत्ने, उपचार गराउने, कोरोना परीक्षण गराउने, मास्क र स्यानिटाइजर वितरण गर्ने जस्ता सबै प्रवन्ध गर्न चूनौती नै हुन्छ’ स्टील उद्योग सञ्चालन गर्दै आएको औद्योगिक समूह साखः ग्रुपका उपाध्यक्ष तथा नेपाल स्टिल रोलिङ मिल एशोसियसनका बरिष्ठ उपाध्यक्ष किरण साखः भन्छन्, ‘सरकारले एउटा आइसोलेशन वार्डमा त पर्याप्त व्यवस्था गर्न सकेको छैन, उद्योग भित्रै यी सब व्यवस्थापन गर्न कहाँ सजिलो हुन्छ र ?’ 

सरकारले कामदार भित्र राखेर उद्योग चलाउ भन्दा लागत बढ्ने र कामदारलाई बाहिरैबाट आउने जाने गर भन्दा जोमिख बढ्ने भएकाले तत्कालै उद्योग चलाउन नसकिने उनको भनाई छ । केही उद्योगले जोखिम मोलेर फ्याक्ट्री चलाउँदा बस्तुको गुणस्तरमा कमी आएको खबर पनि बाहिर आइरहेकाले सुरक्षा र गुणस्तरमा कमी आउन दिन्नौ भनेर प्रतिवद्धता जनाउने उद्योगलाई सञ्चालनको लागि एशोसियसनले सहजिकरण गरिदिने बरिष्ठ उपाध्यक्ष साखःको भनाई छ ।

मागको तथ्यांक छैन

लकडाउनका समयमा केही उद्योगले १० प्रतिशत कामदारबाट बस्तु उत्पादन गरेको भएपनि बजारमा माग नहुँदा बिक्रि नभएको एशोसियसनको भनाई छ । माग कति छ र उत्पादन कति भईरहेको छ भन्ने यकिन तथ्यांक नरहेका कारण वास्तविक क्षति पनि यति नै हो भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । 

‘३० लाख मेट्रिक टन उत्पादन क्षमता भएपनि १२/१३ मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको थियो’ साखः भन्छन्, ‘तर कोभिडका कारण १२ मेट्रिक टनबाट पनि उत्पादन ८० प्रतिशत जतिले नै घटेपछि क्षति त कति भयो कति ?’ 

मूल्य घट्यो भन्नु हल्ला मात्रै

केही उद्योगहरुले सिमेन्टको मूल्य घटेसँगै रड/छडको पनि मूल्य घटाइएको बताउने गरेका छन् । प्रति किलोग्राम २ देखि ३ रुपैयाँ मूल्य घटेको दाबी बिक्रेताहरुले पनि गरिरहेका छन् । तर अर्थशास्त्रको नियमन अनुसार खुला अर्थतन्त्रमा माग र आपुर्तीका आधारमा मूल्य तय हुने भएकाले कुनै उद्योगले चाहेकै भरमा मूल्य बढ्ने र घट्ने नहुने उद्योगी साखःको भनाई छ । 

‘डिमाण्ड एण्ड सप्लाईको आधारमा मूल्य तय हुने हो’ उनले भने ‘कोभिडका कारण न माग छ, न उत्पादन छ । यस्तो बेलामा मूल्य घट्यो भनिएपनि वास्तवमा मूल्य घटेको छैन ।’ 

रडको बजार भाउ हाल ७४ देखि ७५ रुपैयाँ प्रतिकिलो रहेको छ । यो मूल्य भ्याट, नाफा सबै जोडेर बिक्रि गर्दा उपभोक्ताले तिर्नुपर्ने मूल्य हो । उधारोमा लगेकाहरुबाट पैसा उठ्न नसकेको र स्टकमा भएको पनि बिक्रि नभएका कारण उद्योग नै धाराशायी बन्ने अवस्था आएको उनको गुनासो छ । 

सिमेन्ट उद्योगीहरुले डिलर्सलाई दिँदै आएको कमिशन रोक्दै उधारोमा सिमेन्ट बेच्न छोडेपछि मूल्य घटाएका थिए । त्यसै ताका फलामे रडको पनि मूल्य घटेको चर्चा चलेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved