कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले दृष्टिविहीन व्यक्तिहरुका लागि “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको छ । ब्रेल लिपिको समेत व्यवस्था रहेको उक्त खाता दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो ।
उक्त खाता शुन्य मौज्दातमा खोली उच्चतम् प्रतिफल प्राप्त गर्नुका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरु समेत लिन सकिनेछ बैंकले जनाएको छ । बैंकले हाललाई मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरेको जानकारी दिएको छ ।
उक्त खाताको शुभारम्भ बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणा बारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरुले भोग्नु परेका समस्या र चुनौतीहरुका बारेमा अवगत गराएका थिए ।
त्यस्तै संघका अध्यक्ष नर बहादुर लिम्बुले आफुहरु दृष्टिविहीन भएको कारण राज्यका निकायहरुबाट पाउने विभिन्न सुविधाहरु उपभोग गर्नबाट बञ्चित भएको गुनासो गर्दै बैंकले इज्जतका साथ आम नागरिक सरह बैंकिङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा धन्यवाद दिएका थिए । त्यस्तै उनले अन्य बैंक तथा वित्तीय संस्थहरुले समेत यो महत्वपूर्ण कार्यको अनुसरण गर्नु पर्ने बताएका थिए । बैंकले हाल १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।