कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीका कारण ओरालो लागेको आयातमा बृद्धि भएको छ । बन्दाबन्दी खुलेसगैँ नेपालमा चाडपर्व सुरु हुँदा आयातमा बृद्धि भएको भन्सार विभागले जनाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा गत चैत यताकै सबैभन्दा धेरै आयात भएको छ । गत आर्थिक वर्ष औषत मासिक आयात १ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा बन्दाबन्दीका कारण चैतमा ५८ अर्ब बराबरको आयात भएको थियो । तथ्यांक अनुसार चैतदेखि साउनसम्म न्यून रहेको आयात बन्दाबन्दी खुलेसगैँ बढेको हो । नेपाल सरकारले विभिन्न वस्तु आयातमा लगाएको बन्देज खारेज गरेपछि आयातमा बृद्धि भएको हो ।
चैतमा ५८ अर्बको आयात भएकोमा असोज महिनामा १ खर्ब १३ अर्ब बराबरको आयात भएको छ । गत तीन महिनाको अबधिमा २ खर्ब ९२ अर्ब २६ करोडको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कमी हो । गत आवको सोही अबधि अर्थात असोज मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९५ करोडको सामग्री आयात भएको थियो ।
यसैगरी आयात सगैँ निर्यातमा पनि बृद्धि भएको छ । अघिल्लो आबको तुलनामा यस आवमा नेपालको निर्यात १४ प्रतिशतले बढेर ३१ अर्ब ४ करोड पुगेको छ । गत आवको असोज मसान्तसम्ममा नेपालले २७ अर्ब १६ करोडको निर्यात गरेको थियो ।
१० प्रतिशतले व्यापार घाटामा बृद्धि
त्यस्तै असोजमा ७ महिनाकै धेरै आयात हुँदा व्यापार घाटा १० प्रतिशतले बृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ कोे पहिलो दुई महिनासम्म व्यापार घाटामा कमी आएको थियो । आयातमा कमी सगैँ निर्यातमा बृद्धि हुँदा व्यापार घाटामा कमी आएतापनि असोजमा ब्यापार घाटा बढेको हो ।
तीन महिनाको अवधिमा व्यापार घाटा साढे २ अर्ब पुगेको छ । भन्सारले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांक अनुसार ३ खर्ब २३ अर्ब ४० करोडको वैदेशिक व्यापारबाट नेपालले २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरेको हो । गत आवको सोही अबधिमा ३ खर्ब ६२ अर्ब ११ करोड बराबरको बैदेशिक व्यापार भएको थियो ।