कहाँ पुग्यो रसुवागढी र सान्जेंन जलविद्युत आयोजना निर्माण ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 08:39:00 AM मा प्रकाशित

laxmi  sunrise bank

विगत पाँच वर्ष अगाडिदेखि निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समग्र निर्माणको प्रगति ६७ प्रतिशत पूरा भएको छ । आयोजना प्रमुख छवि गैह्रेका अनुसार चार हजार १८५ मिटर लामो ‘रेडरेस’ सुरूङ निर्माण सम्पन्न भई मुहानको बाँध बाँध्ने, बालुवा जम्मा गर्ने पोखरी एवं विद्युत्गृह बनाउने काम धमाधम अगाडि बढिरहेको जानकारी दिए । प्रमुख गैह्रेका अनुसार सन् २०२० को फेब्रुअरीसम्ममा रसुवागढी आयोजनाबाट १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । 

विद्युत् आयोजनाको सम्पूर्ण संरचना भूमिगत भएका कारण भोटेकोशीमा आउने बाढी, भू–क्षय, भूकम्प तथा चट्याङले कुनै असर नपर्ने विद्युत् उत्पादनमा क्रियाशील प्राविधिकले दाबी गरेका छन् । साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत र ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य भने ६८ प्रतिशत पूरा भएको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिए । 

माथिल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्ष तथा तल्लो साञ्जेन आयोजनाबाट डेढ वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको यी दुवै आयोजना अर्धभूमिगतरूपको संरचना हुने बताइएको छ । निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह बाहिरी सतहमा हुने प्राविधिकले बताएका छन् । रसुवागढी तथा साञ्जेन जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि प्रदान गर्ने विद्युत् शेयर यही फागुन महीनामा जारी गर्ने प्रमुख श्रेष्ठले जानकारी दिए । 

उता गोसाइँकुण्ड गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने २० मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत् आयोजना निर्माणका लागि स्याफ्रु्बँेसीको भोटेकोशी र लाङ्टाङ खोलाको सङ्गमस्थलमा आफ्नो आधार इलाका जाने बेलीब्रिज एवं सडकमार्ग निर्माण सम्पन्न गरी विद्युत्को निर्माण काम अगाडि बढाउँदै लगेको लाङटङ खोला हाइड्रोपावरले जनाएको छ । 

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाअन्तर्गतको भू–भागमा निर्माण हुने अपर त्रिशूली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना अबको एक÷दुई महीनामै स्थलगतरूपमा निर्माण शुरू हुने प्राविधिकले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ६० मेगावाट माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved