विदेशबाट फर्किएर नेपालमै मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:02:36 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका  ११४ कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ। असार ८ गते सम्पन्न बोर्ड सचिवालयको बैठकले यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ।

सचिवालय बैठकले वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परि अस्वस्थ बनेका दक्षिण कोरिया, साउदी अरव, कतार, कुवेत, यु.ए.ई. लगायतका अस्पतालमा उपचाररत २८ जनालाई नेपालमै ल्याएर उपचार गराउने बारे छलफल गरेको छ। यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सकहरु, वैदेशिक रोजगार व्यवसायी संघ र ट्रेड युनियकका तर्फबाट सदस्य रहने गरी तथा वैदेशिक रोजगार बोर्ड सचिवालयका तर्फबाट सदस्य सचिव रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको छ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत् गम्भिर प्रकृतिका विरामीहरुको संकलित तथ्यांकहरु उपर छानविन गरी नेपाल ल्याउने प्रकृया÷मापदण्डहरु सम्बन्धमा र नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र लगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सुझाव पेश गर्ने श्रम मन्त्रालयले जनाएको छ। 

बैठकले साउदी अरबमा सवारी दुर्घटनामा मृत्यु भएका बाग्लुङका तेजेन्द्र भण्डारीको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । तेजेन्द्रको शव परिवारले पाएको थिएन ।

उनको शवलाई मोरङका सुवास तामाङ भनी पठाइएको थियो । तेजेन्द्रको शवलाई सुवासको ठान्दै सुवासको परिवारले तामाङ संस्कार अनुसार अन्त्येष्टि गरि बोर्डबाट राहत रकम लिएका थिए । आर्थिक सहायता समेत प्राप्त गरिसके पश्चात् साउदीमै उपचार सकेपछि सुवास तामाङ जीवितै नेपाल फर्केका थिए ।

बैठकले मृतक तेजेन्द्र भण्डारीको हकमा निजको वृद्धआमा र नाबालकलाई क्षतिपूर्तिवाफत आर्थिक सहायता उपलब्ध गराउने र सोही घटनामा अर्को पीडित सुवास तामाङको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायताको सम्बन्धमा निजको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।बैठकले तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत् सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved