वार्षिक ७ सय नेपालीको ज्यान लिने पार्किन्सन रोग के हो ? लक्षण के हुन्, कसरी बच्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 11:35:39 AM मा प्रकाशित

laxmi  sunrise bank

डा. राजु पौडेल

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अप्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अप्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ ।

दिमागको भित्री भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरीर सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरीर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्क्रीय हुँदै जान्छ तब पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाईन्छ ।

पार्किन्सन रोगका लक्षणहरु 

पार्किन्सन रोग लागेका व्यक्तिहरुमा भिन्दाभिन्दै लक्षणहरु देखिने गरेको पाईन्छ । जसमा मांशपेशीलाई असर गर्ने लक्षण र मांशपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांशपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन सुस्तपना र हिँडाईमा समस्या अदि लक्षणहरु देखिन्छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा विरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।

यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांशपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनै पनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ ।

यस्तै, मांशपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदि हुन् । 

नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका विरामी रहेको पाइन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७ सय जनाको मृत्यु हुने गरेको पाइन्छ । 

उपचार विधि 

दिमागको भित्री भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा विरामीलाई आराम हुने र निको हुने हुन्छ । 

यो रोग औषधी सेवनका कारण पुरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षण पनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक हुन्छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक पर्दछ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ विरामी प्रत्येक वर्ष २ सयको हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना विरामी ७ सयको हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका विरामीलाई उपचारका लागि १ लाख दिने व्यवस्था गरेको छ ।

(डा. राजु पौडेल ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट हुन्)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved