
सरकारले स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीलाई अनिवार्य सहभागी गराउने भएको छ । स्वास्थ्य बीमा बोर्डले राष्ट्र सेवक कर्मचारीलाई पनि अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने भएको हो ।
बोर्डले यसअघि सर्वसाधारणलाई प्राथमिकता राख्दै आएको थियो । बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले अबदेखि सबै सङ्गठित संस्थाका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्ध गराउने बताए । उनले कानुनमा सङ्गठित संस्थाका कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताए ।
‘सङ्गठित संस्थाका कर्मचारीमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । स्वास्थ्य बीमा बोर्डको नियमावलीमै सङ्गठित व्यक्तिलाई स्वास्थ्य बिमामा समेट्ने उल्लेख छ । अब बीमा बोर्डले त्यसलाई कार्यान्वयनमा लैजान खोजेको छ,” उनले भने ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बोर्डले यसै वर्षदेखि सङ्गठित क्षेत्रका व्यक्तिलई स्वास्थ्य बीमामा अनिवार्य गरिने जानकारी दिए । उनले औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार बोर्ड अगाडि बढेको बताए ।
बोर्डकी सुचना अधिकारी ओमकुमारी कडेलले अहिले राष्ट्र सेवक कर्मचारीलाई आवद्ध गराउने र पछि सोहि अनुसार जेष्ठ नागरिकलाई अनिवार्य गराउने तयारी भइरहेको बताईन् । उनले त्यसपछि संगठित संस्थाका कर्मचारीलाई पनि अनिवार्य आवद्ध गराउदै लैजाने जानकारी बिजपाटीलाई दिइन् ।