युनेस्कोबाट अलग हुने अमेरिका र इजरेलको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 09:09:35 AM मा प्रकाशित

laxmi  sunrise bank अमेरिकाले राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको छ।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई 'बहादुरीपूर्ण' र 'नैतिकताले भरिएको' भनेका छन्।

यसअघि युनेस्कोकी प्रमुख इरिना बोकोभाले उक्त संस्थाबाट अमेरिका अलग हुनु 'अति दुःखको विषय' भएको प्रतिक्रिया दिएकी थिइन्।

बीबीसीका एकजना संवादादाता भन्छन्, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले राष्ट्रसंघीय निकायहरुको मूल्य-मान्यताको उनले गर्दै आएको आलोचनालाई उजागर गरेको छ।

युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ।

त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाले प्यारिसस्थित मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व विस्थापित गर्नका निम्ति एउटा पर्यवेक्षण मिसन खटाउनेछ।

इजरेली प्रधानमन्त्री नेतन्याहुले ट्वीट गर्दै अमेरिकाले जस्तै युनेस्कोबाट अलग हुने प्रक्रिया समानान्तर रुपमा थाल्न आफ्नो विदेश मन्त्रालयलाई निर्देशन दिएको बताएका छन्।

अमेरिका र इजरेलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन्।

युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो।

गत वर्ष युनेस्कोले जेरुसलेमस्थित महत्त्वपूर्ण पवित्रस्थलसँग यहुदीहरुको कुनै सन्दर्भ नजोडिएको एउटा विवादास्पद प्रस्ताव अंगीकार गरेपछि इजरेलले उससँगको सहकार्य तोडेको थियो।

उक्त प्रस्तावले जेरुसलेमस्थित पवित्रस्थलहरुमा र वेस्ट ब्यांकमा इजरेलले गर्दै आएका गतिविधिहरुको समेत आलोचना गरेको थियो।

यसै वर्षको शुरुतिर युनेस्कोले वेस्ट ब्यांकस्थित 'ओल्ड सिटी अफ हिब्रोन'लाई प्यालेस्टिनी विश्व सम्पदा सूचीमा राख्ने घोषणा गरेकोमा नेतन्याहुले त्यसको पनि निन्दा गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved