ट्रंपकी छोरी आउने भएपछि भारतमा भिखारीलाई पक्राउ गरिदै, भिखारीबारे जानकारी दिए ५ सय पुरस्कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 10:47:33 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषणा गर्दछौँ। जेल विभागले त्यसमा सघाउनका निम्ति ५०० रुपैयाँ इनाम दिने घोषणा गरेको हो।"उनले त्यसको उद्देश्य तेलंगानामा भीख माग्ने कार्यमा नियन्त्रण गर्नेसम्बन्धी नियम लागू गराउने अभियानमा नागरिकहरुको सहभागिता बढाउने रहेको बताए।

चञ्चलगुडा जेलमा आनन्द आश्रम निर्माण गरिएको छ जहाँ भिखारीहरुलाई पुनर्वासका लागि पठाइँदैछ। प्रहरी कमिश्नर एम महेन्द्र रेड्डीले दुई महिनाका लागि भीख माग्नमा प्रतिबन्ध लगाइएको घोषणा गरेपछि भिखारीहरुविरुद्ध पछिल्लो हप्तादेखि कारबाही थालिएको हो। नोभेम्बर ८ तारिखदेखि लागू गरिएको प्रतिबन्ध आउँदो ज्यानुअरी ७ तारिखसम्म जारी रहनेछ।

आलोचकहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्काको यात्रालाई मध्यनजर गर्दै उक्त कदम चालिएको बताएका छन्।नोभेम्बर २८ देखि २९ तारिखसम्म चल्ने अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन इभान्का त्यहाँ जाने कार्यक्रम छ।

यद्यपि स्थानीय प्रशासनले त्यो कारणले पछिल्लो अभियान थालिएको भन्ने दाबी अस्वीकार गरेको छ। यसअघि सन् २००० को मार्चमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन आउनुअघि भिखारीहरुलाई सडकबाट हटाइएको थियो। बिबिसीका अनुसार भिखारीहरुलाई नियन्त्रणमा लिन पूजास्थल, रेल्वे स्टेशन, बस स्टेशन लगायतका स्थानमा कारबाही भइरहेको छ।

अधिकारीहरुका अनुसार हालसम्म ३६६ जना भिखारीलाई नियन्त्रणमा लिएर आनन्द आश्रम पठाइएकोमा १२८ जनाले त्यही बस्ने निर्णय गरेका छन् भने भीख नमाग्ने प्रतिवद्धता जनाउँदै बाँकी २३८ जना घर फर्केका छन्। भिखारीहरुलाई तालिम दिएर पेट्रोल पम्पमा काममा लगाउने जेल विभागको योजना रहेको छ।

तेलंगाना जेलका महानिर्देशक बीके सिंहले भने, "यहाँ ल्याइएका अधिकांश मानिस भिखारी नभएको दाबी गर्छन्। हामीले स्वस्थ मानिसहरुलाई जान दिएका छौँ र समातिएका मानिसहरुको बायोमेट्रिक विवरण राखिरहेका छौँ ताकि पछि उनीहरुको पहिचान गर्न सकियोस्।" घरबाट निकालिएका वृद्धा भिखारीहरुको व्यवस्थापनमा चाहिँ अधिकारीहरुलाई चुनौती थपिएको छ।

त्यस्ता मानिसहरुका लागि बस्ने एवं खाने व्यवस्था मिलाउनुपर्ने र मनोपरामर्श पनि दिनुपर्ने आवश्यकता देखिएको छ।कारबाहीबाट जोगिन हैदराबादका पाँच हजार भिखारीमध्ये धेरैजसो भागेर विजयवाडा र नागपुर पुगेका छन्। अधिकारीहरुले दुई महिनापछि उनीहरुलाई फेरि हैदराबादमा फर्किन नदिने प्रयास गरिरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved