यस बर्षको नोबेल शान्ति पुरस्कार बलात्कारविरोधी अभियानकर्तालाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 09:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नादिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डर्सनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्। मुराद इराकी यजिदी महिला हुन्। उनलाई लडाकु समूह इस्लामिक स्टेटले अपहरण गरेर यौनदासी बनाएका थियो। मक्वेग कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन्। उनी हजारौँ बलात्कृत महिलाहरूको उपचारमा संलग्न भएका छन्।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति र संस्था गरेर कुल ३३१ वटा नाम सिफारिस भएका थिए। सन् २०१६ मा सर्वाधिक ३७६ नाम मनोनयनमा परेका थिए। विजेताहरूको नाम शुक्रवार ओस्लोमा घोषणा गरिएको हो। यौनहिंसालाई युद्धमा हतियारका रूपमा प्रयोग हुन नदिने प्रयासका लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको राइस-आन्डर्सनले बताइन्।  सन् २०१४ नोभेम्बरसम्म इराकको मोसुल सहरमा मुराद इस्लामिक स्टेटकी बन्धक थिइन्। तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्। उनीलगायत झन्डै तीन हजार यजिदी महिलाहरूलाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो। उनीहरूले बलात्कार र अन्य दुर्व्यवहार खेप्नु परेको थियो। ती दुर्व्यवहार सङ्गठित रूपमै सैन्य रणनीतिअन्तर्गत भएका नोबेल कमिटीकोले जनाएको छ। उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो।

मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावनादूत बनिन्। आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन्। युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ। उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गरेका छन्। युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले कङ्गोको सरकार र अन्य देशको आलोचना गर्दै आएको नोबेल समितिले जनाएको हो। पुरस्कार पाएपछि मेक्वेगले भने, "प्रत्येक बलात्कृत महिलामा म आफ्नी श्रीमती देख्छु। प्रत्येक बलात्कृत आमामा म आफ्नी आमा देख्छु र प्रत्येक बलात्कृत बच्चामा म आफ्नो बच्चा देख्छु। हामी कसरी चुप बुस्नसक्थ्यौ?"

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved