अदालतमा बयान दिदादिदै पुर्वराष्ट्रपति मुर्सीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 06:07:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। अदालतमा बयानपछि बेहोस भएका उनको त्यहि निधन भएको हो ।

सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए। उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो। अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो।

मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको बताएका छन्। जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए। बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो। उनको मृत्युको कारण तत्काल बताइएको छैन। तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ। मुस्लिम ब्रदरहुड दलले आफ्नो नेताको निधनलाई हत्याको संज्ञा दिएको छ।

सन् २०१२ मा मोर्सी इजिप्टको पहिलो जननिर्वाचित नेता बनेका थिए। तर एक वर्षपश्चात् उनलाई सेनाले अपदस्थ गरिदियो। अन्य तीन मुद्दाको निर्णयबमोजिम उनलाई ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो। उनीमाथि प्रतिबन्धित समूहको अगुवाइ गरेको तथा सरकार विरोधी प्रदर्शनकारीलाई बन्दी बनाएर यातना दिएको तथा देशका गोप्य सूचना चुहाएको जस्ता आरोप लगाइएका थिए। तर उनले सधैँ अदालतको वैधानिकतामाथि नै प्रश्न उठाइरहे। उनका समर्थकहरूले ती मुद्दा राजनीतिक पूर्वाग्रह प्रेरित रहेको भन्दै तिनलाई सैनिक 'कू'लाई वैधानिकता प्रदान गर्ने प्रयत्नको रूपमा व्याख्या गरेका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved