डोनाल्ड ट्रंपद्वारा अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2020 | 11:12:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध  तोडेको बताएका छन्। उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, "डब्ल्यूएचओमा चीनको पूर्णत: नियन्त्रण रहेको छ।" अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए। अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ। उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो।

उनले चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्। कोभिड-१९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ।

"आज हामी डब्ल्यूएचओसँगको सम्बन्ध तोड्दैछौँ र त्यो रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ," ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले भने। "चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ।"

उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए। ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए। उनले डब्ल्यूएचओको प्रमुखलाई गत मे १८ मा पत्र लेख्दै असहमति व्यक्त गरेका थिए। पछि उनले डब्ल्यूएचओलाई चीनको "कठपुतली" भएको आरोप लगाएका थिए। 

चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ। डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved