२० अर्बको आईपिओ जारी गर्दै नेपाल आयल निगम, सर्वसाधारणलाई कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 05:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको छ । इन्धनको कारोबार गर्दै आए निगमले चुक्ता पुँजी बढाउनका लागि सेयर निष्कासन गर्न लागेको हो । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउने लक्ष्यअनुरूप निगमले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । सरकारी, रणनीति साझेदार र सर्वसाधारणलाई सेयर जारी गरेर पुँजी वृद्धि गर्न लागेको निगमको भनाइ छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले चुक्ता पुँजी वृद्धि गर्नका लागि सर्वसाधारणलाई ६ अर्ब रुपैयाँ बराबरको सेयर जानकारी गर्न लागिएको जानकारी दिए । वार्षिक डेढ खर्ब रुपैयाँको कारोबार गर्ने निगमको चुक्ता पुँजी २९ करोड रहेको छ,कार्यकारी निर्देशक भट्टराईले भने, “पुँजी बढाएर २०अर्ब रुपैयाँ पुर्याउने लक्ष्यअनुरूप सेयर जानकारी गर्न लागिएको हो ।” पुँजी वृद्धिका लागि सर्वसाधारणका लागि ६ अर्ब, रणनीतिक साझेदार (संस्थापक) का लागि ३ अर्ब र नेपाल सरकारलाई ११ अर्ब रुपैयाँको सेयर जारी गरिने उनको भनाइ छ । रणनीतिक साझेदारमा आन्तरिक तथा वाह्य कम्पनीहरू रहने कारोबार दैनिकमा खबर छ।

साझेदार कम्पनीमा बैकिङ, बिमा क्षेत्र र कर्मचारी रहने छन् । निगमले बोनसका रूपमा जम्मा गरिएको रकम र मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकम सरकारी सेयरका रूपमा रहने निगमको भनाइ छ । “इन्धन भन्डारणस्थल निर्माण गर्नका लागि ५० अर्ब रुपैयाँ लाग्ने गर्छ,” भट्टराईले भने, “यसका लागि पुँजी वृद्धि गदै जानुपर्ने देखिन्छ ।” भन्डारणस्थलमा इन्धन भर्नका लागि ६० देखि ७० अर्ब रुपैयाँ लाग्ने गर्छ ।

सर्वसाधारणलाई सेयर जारी सँगै प्रत्येक वर्ष मुनाफा वितरण गर्ने र निगमलाई पारदर्शी बनाउदै जाने उनको भनाइ छ । कम्पनी ऐन २०६३ अनुसार सर्वसाधारणका लागि पनि सेयर जारी गर्न लागिएको उनको भनाइ छ । अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, आपूर्ति मन्त्रालय र निगम संलग्न समितिले गरेको अध्ययनले निगम सुधार गर्नका लागि चुक्ता पुँजी बढाउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । सोहीअनुसार पुँजी वृद्धि गर्न लागिएको निगमको भनाइ छ । निगमका अनुसार मासिक ४ अर्ब रकम राजस्वबापत सरकार र इन्धन खरिदवापत १० अर्ब रकम इन्डियन आयल कर्पाेरेसनलाई बुझाउने गर्छ ।

निगमका अनुसार पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा सकारात्मक रहेको छ । निगम कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भए पनि चुक्ता पुँजी न्यून छ । अहिले नयाँ ऐन २०६३ जारी भइसकेकाले सोही अवधारणमा जान आवश्यक भएको जनाएको छ । सेयर जारी गर्ने विषयलाई निगमको साधारणसभाले समेत स्वीकृति दिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयले पनि ३० अर्बका लागि स्वीकृति दिएको निगमको भनाई छ ।

वार्षिक डेढ खर्ब रुपैयाँको कारोबार गर्ने निगमको हाल पुँजी २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँ छ । त्यसमध्ये सबैभन्दा बढी सरकारको ९९.४६ प्रतिशत (२९ करोड ८ लाख २० हजार ७ सय रुपैयाँ) सेयर छ । यस्तै नेसनल ट्रेडिङको ०.२५६ (७ लाख ५० हजार), राष्ट्रिय बिमा कम्पनीको ०.१५३ (४ लाख ५० हजार रुपैयाँ), नेपाल बैंकको ०.०७७ (२ लाख २५ हजार रुपैयाँ) र राष्ट्रिय वाणिज्य बैंकको ०.०१५३ (१ लाख ५० हजार रुपैयाँ) सेयर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved