उच्च प्रतिफल पाउन कम्पनीका यी ७ सूचक पनि हेर्नुस, इपिएस मात्र हेर्दा फसिएला!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 08:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको छ। नेप्सेमा सुचिकृत कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणलाई आधार मानेर धेरै लगानीकर्ताले लगानी निर्णय लिने गर्छन । 

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले संभवत हालै निकै गुणा गरिएको पुँजी वृद्रि र महँगो वचतका कारण प्रतिशेयर आम्दानी घटेको विवरण प्रस्तुत गरिरहेका छन् । यसले गर्दा कम्पनीहरुको प्रति सेयर आम्दानीलाई मात्र प्राथमिकतामा राखेर बित्तिय विवरणलाई विश्लेषण गर्ने अभ्यासले केही लगानीकर्ताको लगानीको निर्णय गलत हुने संभावना पाइएको छ। 

राष्ट्र बैंकको पुंजीवृद्धिको नीतिसंगै बैंक तथा वित्तीय संस्थाहरु एकातिर पुँजी बढाउने दवाव झेलिरहेका छन् भने अर्कोतिर लगानीमा पहिले कै अनुपातमा मुनाफा हुनुपर्ने लगानीकर्ताको दवाव पनि भोगिरहेका छन् । 

अझ सरकारले पुँजीगत खर्च गर्न नसकरे ढुकुटी रकम थन्कने अनि रेमिटेन्स दर समेत घट्न जाँदा बैंकहरु लगानीका लागि महंगोमा वचत संकलन गर्न बाध्यात्मक अवस्थामा पुगेका छन् । यसले मुनाफामा प्रत्यक्ष असर पुर्याएको छ।त्यसो भए लगानीकर्ताले बैंक वित्तीय संस्थाको मुनाफालाई कसरि र के को आधारमा विश्लेषण गरि लगानीको निर्णय गर्ने त ? 

यो प्रश्न सेयरबजारमा कयौं बर्षदेखि लगानी गर्दै आएका लगानीकर्तादेखि नयाँ अनुहारलाई समेत उत्तिकै बिझ्न सक्छ। यस बिषयलाई सम्बोधन हुनेगरी बिजपाटि डटकमले लगानीकर्ताको सहजताको लागि कम्पनीको विवरणमा उल्लेख सूचकहरुलाई कसरि र के को आधारमा विश्लेषण गर्ने भन्ने बारे बिभिन्न बैंक, विकास बैंक, फाइनान्स कम्पनीका प्रमुख कार्यकारी तथा सेयर विश्लेषकहरुसंगको छलफलको आधारमा यो लेख तयार पारेको छ।

एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले मिडियाले बैंक वित्तीय संस्थाको वित्तीय विवरणलाई पस्कने शैलीकै कारण पनि लगानीकर्ता 'मिस गाइड' भएको दाबि गर्छन। 'बैंकहरुले कारोबार कतिले बढाएका छन, उनीहरुको कर्जा प्रवाहको रफ्तार कस्तो छ, शाखा संजाल र ब्यापारका योजना कस्ता छन जस्ता बिषयलाई छायाँमा पारि फलानोको इपिएस यतिले बढ्यो उतिले घट्यो भनिरहंदा लगानीकर्ता मिस गाइड भएका छन' उनले भने।  

चुक्ता पुंजी बढाउन दुई बर्ष दिएपछि मुनाफा बढाउन पनि केहि समय दिनै पर्ने बताउदै उनले लगानीकर्ताले धैर्य भएर बैंक वित्तीय संस्थाको प्रगति कुन दिशा तर्फ बढेको छ त्यसलाई बिशेष ख्याल गर्न उनले लगानीकर्तालाई सुझाएका छन। 

 'बैंकहरुले कारोबार कतिले बढाएका छन, उनीहरुको कर्जा प्रवाहको रफ्तार कस्तो छ, शाखा संजाल र ब्यापारका योजना कस्ता छन जस्ता बिषयलाई छायाँमा पारि फलानोको इपिएस यतिले बढ्यो उतिले घट्यो भनिरहंदा लगानीकर्ता मिस गाइड भएका छन'

त्यस्तै एक फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले कम्पनीको खुद मुनाफा र व्यवसायको आकार हेरेर लगानीको निर्णय लिन उचित हुने बताएका छन। 'कतिपयले छोटो अवधिमा धेरै नाफा कुम्ल्याउन कर्जा प्रवाहको रफ्तार तिब्र बनाएका हुन्छन, यसले संस्थाको जोखिम पनि उत्तिकै बढाउँछ, त्यसैले संस्थाको प्रगतिको स्पिड कस्तो छ र उसको निक्षेप संकलनको स्तर कस्तो छ भन्ने कुरामा लगानीकर्ता जानकार हुनुपर्छ' उनले भने। 

'खालि इपिएस हेरेर मात्र लगानीको निर्णय लिनु मुर्खता नै हो भन्छु म' उनले भने, 'यहाँ चुक्ता पुंजी ४ गुणाले बढेको छ, मुनाफा पनि चार गुणाले बढेपो इपिएस सन्तुलनमा रहने हो, मुनाफामा व्यापक वृद्धि गर्न अहिलेको अवस्थाले दिंदैन, सबैभन्दा बढी मुनाफा कसले कसरि गरेको छ त्यसलाई अध्ययन गरि कम्पनि रोज्नु नै बुद्धिमानी हुन्छ।'

'बैंक वित्तीय संस्थाको बिजनेश बढेकै छ तर उनीहरुलाई इपिएस व्यवस्थापन गर्नुपर्ने दबाबले बैंकहरुले कर्जाको ब्याज दर बढाएर भएपनि मुनाफा बढाएका छन' उनले भने, 'अबको केहि समय इपिएसमा केन्द्रीत नहुँदा नै भलो हुन्छ।'

त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बैंक वित्तीय संस्थालाई चार गुणाले पुंजीवृद्धि गर्न ३ बर्ष लागेकाले उनीहरुको इपिएस पनि त्यहि अनुसार बढोस भन्ने चाहना राख्नु नै गलत भएको बताएका छन। 

'पुंजीवृद्धिको अनुपातमा खुद मुनाफा पनि बढेपो इपिएस सन्तुलनमा हुन्छ, पुंजीवृद्धि गरे अनुसार बैंक वित्तीय संस्थालाई व्यवसाय बिस्तार गर्न र मुनाफा कमाउन केहि समय लाग्छ, त्यसैले लगानीकर्ताले धैर्यता अपनाउन पर्छ' उनले भने, 'इपिएस हेरेर चिन्तित हुनुपर्दैन, उनीहरुको बिजनेश ग्रोथ हेर्नुपर्छ तर तात्तातो खाउँ भन्ने सोच लगानीकर्ताले राख्न हुँदैन।' 

त्यस्तै धितोपत्रसम्बन्धी जानकार अधिवक्ता ज्योति दाहालले पूँजी वृद्धिको ठुलो भार एकैपटक परेकोले एकै वर्षमा पूँजी वृद्धिको अनुपातले आम्दानी हुनसक्ने अपेक्षा राख्नु हतार हुने बताएका छन। 

'पूँजी वृद्धिको अनुपातमा प्रतिशेयर आम्दानी बढ्न सक्ने स्थिति बन्दैन,अहिले कम देखिए पनि विस्तारै निक्षेप बढ्दै जाँदा व्याज खर्च घट्दै जानेछ र आम्दानी बढेर प्रतिशेयर आम्दानी पनि बढ्ने हुन्छ तर यो स्थिति तत्काल नआउने हुनाले केहि धैर्यता भने राख्नुपर्ने हुन्छ, लगानी गर्नासाथ आम्दानीको अपेक्षा राखिहाल्नु पनि हुन्न' उनले भने। 

आज लगानी गरेर भोलि प्रतिफल लिने हिसाबले अहिलेको आम्दानीलाई त्यति नराम्रो भनिहाल्न नमिल्ने बताउदै दाहालले सामान्यतया निक्षेप, कर्जा, कुल व्याज र खूद व्याज वृद्धि हेर्नुपर्ने सुझाब दिएका छन। 'सामान्य प्रक्रियाले निक्षेप र कर्जा बढेको छ भने अहिले बढेको व्याज खर्चलाई त्यति ठूलो संकट आइहालेको ठान्नुपर्दैन' उनले भने।

निष्कर्ष 

नेप्सेमा सुचिकृत भएका कम्पनीहरुका सेयरमा लगानीको उदेश्य नै कमाउनु हो। त्यसैले सुचिकृत कम्पनीको व्यवसायिक क्षमता र व्यवस्थापन कस्तो छ भन्ने कुराको मुल्यांकन गरेर मात्र लगानीको निर्णय लिनु उचित हुन्छ। यसलाई बुँदागत रुपमा हेर्दा निम्न अवस्था भएका कम्पनीको अवस्थामा सन्तुष्ट हुन सकिन्छ र भविष्यमा राम्रै प्रतिफल दिने अपेक्षा राख्न सकिन्छ ।

१.गत बर्ष, अघिल्लो त्रैमास र यस बर्षको वित्तीय बिबरण हेर्दा कम्पनीको व्यवसायको आकार बढेको छ र नेचुरल छ ।

२.बैक तथा वित्तीय संस्थाको हकमा खुद व्याज आम्दानी बढेको र स्वभाविक छ । हुनतः वचतको लागत बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा लिने व्याजदर पनि बढाएका छन् । तर व्याज खर्चको अवस्था सन्तुलित हुनुपर्दछ । प्राप्त व्याज भन्दा व्याज खर्च बढी भएको अवस्थामा भविष्यमा खुद व्याज नकारात्मक हुने जोखिम रहन्छ ।

३.वचत र ऋणको आकार बढ्दो छ ।

४.निष्कृय कर्जाको दर घट्दो छ । अर्थात् एनपिएल तोकिएको सीमा भित्र रहनुका साथै घट्दो छ ।

५.संभावित जोखिमको लागि व्यवस्था र फिर्ताको अवस्था सकारात्मक छ । व्यवस्था घट्दो र असुली बढ्दो हुनुपर्दछ ।

६.संचालन मुनाफा र खुद मुनाफाको अवस्था सकारात्मक छ ।

७.शेयरधनी कोष सकारात्मक छ ।

उल्लेखित सूचकहरुका पुँजी पर्याप्ता अनुपात, वचत,ऋण र वचत अनुपात (सिडी रेसियो), निष्कृय कर्जा, व्याजदर अन्तर (नेट स्प्रेड) नियामकले तोकेको सीमा भित्र हुनुपर्दछ भने कुल सम्पतिमा प्रतिफल, शेयरधनीकोषमा प्रतिफल सन्तोषजनक छ भने बैंक तथा वित्तीय संस्थाले दीघंकालीन मुनाफा र लाभांसको संभावना उच्च रहन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved