लगानीकर्ता झुक्याउनेको सुचिमा एसियन लाइफ पनि थपियो, फोहोरी खेल दोहोरिरहंदा किन बोल्दैन धितोपत्र बोर्ड ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 28, 2018 | 11:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारमा मूल्य संवेदनशीलताको बिषयले ठुलो महत्त्व राख्छ भन्ने कुरा सम्बन्धित सरोकारवालाहरुले बिर्सिएको प्रमाणित हुँदै गएको छ। सामान्य मानिएका सूचनाले पनि कम्पनिहरुको शेयरमुल्यमा ठुलो उतारचढाब आउनेगर्छ। तर पछिल्लो पटक शेयरबजारमा सुचिकृत कम्पनिहरुले सार्वजनिक गरेका औपचारिक सूचनाका आधारमा गरिएको लगानीकै कारणले लगानीकर्ताले क्षति बेहोर्नुपरेको छ।

कम्पनिहरुले सूचना दिने कुरामा खेलवाड गर्दा त्यसबाट लगानीकर्तालाई नोक्सानी हुन्छ भन्ने करा नियामकलाई थाहा नहुने कुरै भएन। तर नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, लगानीकर्ताका नेता तथा संघसंस्थाहरु कम्पनिले मूल्य संवेदनशीलता गरेको खेलवाडबारे आँखा चिम्लिएर मौन समर्थन जनाएको हो कि भन्ने आशंका उब्जिएको छ।

कम्पनिहरु सहि सूचना सम्प्रेषण गर्नमा संधै चुक्नुको एउटा कारण शेयरबजारको नियामक धितोपत्र वोर्डले आँखा चिम्लनु पनि एक कारण रहेको विश्लेषण गरिएको छ। मूल्य संवेदनशील सूचनालाई मनन नगर्ने प्रवृत्ति विगतदेखि चलिरहेको छ। 

गत बर्षको भदौमा नेपाल इन्भेष्टमेन्ट बैंकले दुविधायुक्त सूचना दिएर चालु वर्षको संवेदनशीलता माथिको खेल थालेको हो। सतहमा 'टाइपिङ इरर' भनेर प्रचार गरीएपनि यथार्थमा नेपाल इन्भेष्टमेन्ट बैंकका संचालकले एक तारे होटलमा गरेको निर्णयलाई व्यवस्थापकिय जिम्मेवारीमा रहेका कर्मचारीले जस्ताको त्यस्तै सार्वजनिक गरिदिंदा त्यो घटना हुन गएको थियो। 

नेपाल इन्भेष्टमेन्टको संचालक र व्यवस्थापनबीचको टसनकै कारण लगानीकर्ताले ठुलो मुल्य चुकाउनुपर्यो। धितोपत्र बोर्डले लगानीकर्ताले भोगेको नोक्सानीको भरपाई बैंकबाट गराउनुको साटो एक सामान्य बिज्ञप्तिमा सम्झौता गर्यो र घटना थामथुम गरियो।  

त्यसपछि यो क्रम चिलिमे जलविद्युत र नेपाल दूरसञ्चार कम्पनीले निरन्तरता दिए। देव विकास बैंकले त मुल्य संवेदनशीलताको पराकाष्ठाको राम्रो उदाहरण नै पेश गरेको छ।  गत कात्तिकमा बुक क्लोज गरेर अहिलेसम्म साधारणसभा नगरेर मुल्य सम्बेदंशिलाताको धज्जी कसरि उडाउने हो भनेर अरु संस्थालाई समेत 'शिक्षा' दिएको छ।  तर यति हुँदा पनि वोर्ड र लगानीकर्ताका संघ संगठन यसबारे 'चुँ' समेत गर्दैनन।  

मुल्य सम्बेदनशिलतामा खेलवाड गर्नेको सुचिमा पछिल्लो पटक एसियन लाइफ इन्स्योरेन्स पनि थपिएको छ। एसियन लाइफले १२ प्रतिशत लाभांश घोषणा गरेर अहिले विमा समितिबाट संशोधन भएर आएको अर्को सूचना जारी गरेर मुल्य संवेदनशीलताको खिल्ली उडाएको छ। 

बिमा समितिकै निर्देशन अनुरुप लाभांश परिमार्जन गरिएको भनेर एसियन लाइफले नेप्से मार्फत जानकारी गराएको छ। यस घटनामा बिमा समितिलाई प्रयोग गरिएको देखिएको छ भने शेयरबजारको नियामक नेपाल धितोपत्र बोर्डले यसबाट लगानीकर्तामा हुन गएको नोक्सानीप्रति केहि बोल्ने हिम्मत गरेको छैन। 

पटक पटक यस प्रकारका घटना दोहोरिरहंदा कि त धितोपत्र बोर्डले कम्पनिले नेप्से मार्फत सार्वजनिक गर्ने सूचना विश्वसनीय हुँदैन भनेर भन्न सक्नुपर्यो। होइन भने मुल्य सम्बेदनशिलताको खेलवाड गर्ने कम्पनिलाई कारबाही गर्ने हिम्मत गर्नुपर्यो। अन्यथा धितोपत्र बोर्ड र नेप्से मार्फत सार्वजनिक गरिने कुनै पनि सूचना तथा जानकारीमा लगानीकर्ताले बिश्वास घट्नेछ भने शेयरबजारमा नियामक धितोपत्र बोर्ड र नेप्सेको उपस्तिथी प्रति नै प्रश्न उब्जिनेछ।  

त्यसैपनि मुख्य व्यवसायबाट के कति आम्दानि भयो, कुन शिर्षकमा कति दायित्व छ भने सार्वजनीक नगर्ने इन्स्योरेन्सहरुले सार्वजनिक गर्ने प्रगति विवरण विश्वसनीय हुँदैनन। त्यतिमात्र नभई विमांकी मूल्यांकन प्रतिवेदन विरालोले बच्चा लुकाए झैँ लुकाएर राख्छन।  अहिले हरेक वर्ष यस्तो मूल्यांकन गर्नुपर्ने प्रावधान भए पनि नगर्ने कम्पनीको संख्या पनि रहेको छ।यहि मूल्यांकन नभएको बहानामा बेलैमा साधारणसभा हुने गरेको छैन।    

इन्स्योरेन्स कम्पनिहरुको यस्तो बेतिथीका बीच उनीहरुले मुल्य संबेदनशीलतामा गरेको खेलवाड प्रति धितोपत्र बोर्ड पनि चुप रहने हो भने बिमा कम्पनिहरुमा गरिएको लगानी कति सुरक्षित होला ?

आफ्नी क्षमता कस्तो छ भनेर थाहा नहुने पनि हुँदोरहेछ भने बिमा कम्पनी चलाउने व्यक्ति कस्ता होलान र यिनले कस्तो संस्थागत सुशासन कायम गरेका होलान् प्रश्न माथि प्रश्न राख्न सकिन्छ। एसियन लाइफले घोषणा गरेको लाभांश ५० प्रतिशतले कम हुनेगरी संशोधन भएर आउनुमा कम्पनीको शुरुमा लाभांश घोषणा गर्दा नै बदनियतपूर्वक गरेको हो भन्न सकिने प्रशस्त आधार छन। बढीमा ५ प्रतिशतसम्म घट्नु स्वाभाविक हुन्छ तर आधा घट्नुलाई बदनियत थिएन वा छैन भनेर बचाऊ गर्न सक्ने ठाउँ नै छैन।  धितोपत्र वोर्ड, बिमा समिति र लगानीकर्ताका संघ संगठनले एसियन लाइफको यस्तो 'बदनियत' बारेमा लगानीकर्तालाई के जवाफ दिन्छन त्यो भने हेर्न बाँकी नै छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved