सेबोनले गरेका राम्रा कामको पनि समाचार बनाईदिन अध्यक्ष कार्कीको आग्रह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 10, 2018 | 09:14:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले संचारकर्मीहरुलाई बोर्डले गरेको सकारात्मक कामहरुको पनि समाचार बनाइदिन आग्रह गरेका छन। आर्थिक बर्ष २०७५-७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्बजनिक गर्ने क्रममा अध्यक्ष कार्कीले पत्रकारहरुले नकारात्मक बिषय मात्र उठान गरेको गुनासो गर्दै धितोपत्र बोर्डले गरेका सकारात्मक कामहरुको पनि समाचार बनाइदिन आग्रह गरेका हुन्।

बोर्डले पछिल्लो समय एफपिओ निष्काशन गर्न दिएका कम्पनीहरुको प्रिमियम मूल्य निर्धारणको बिषयमा पत्रकारहरुले बोर्डको धारणा मागेका थिए । लामो समयसम्म संचिति नोक्सानी रहेको नेपाल ग्रामिण विकास बैंकलाई अंकित मुल्यमा नै एफपिओ निष्काशन गर्न लगाएको तर यहि बर्ष मात्रै  संचिति मुनाफामा पुगेको नेपाल बैंकलाई प्रिमियममा एफपिओ निष्काशन गर्न दिनुको कारणबारे पत्रकारहरुले बोर्डको धारणा माग गरेका थिए । जवाफमा अध्यक्ष कार्कीले बोर्डले नियम संगत रुपमा नै सबै कम्पनीको प्रिमियम तोकेको दाबी गरेका थिए । उनले भने 'बोर्डले कसैको दबाब बिना, स्वतन्त्र रुपले नियम अनुसार नै मूल्य तोकेको छ, त्यसको फाइल यहाँ आएर हेर्न सक्नु हुन्छ'।

जवाफ कै सिलसिलामा केहि आक्रोशित देखिएका कार्कीले पत्रकारहरुले आफुले भनेको कुरालाई तोडमोड गरेर अपब्याखा गरेको बताएका हुन् । साथै उनले नकारात्मक कुराको मात्र पछाडी नलागी बोर्डले गरेका सकारात्मक कार्यको पनि समाचार बनाईदिन आग्रह गरेका हुन् । उनले नेपाल लाइफलाई एफपिओ निष्काशनको अनुमति दिंदाको प्रसङ्ग निकाल्दै बोर्डले त्यस समय लगानीकर्ताको पौने ५ अर्व बचाईदिएको तर त्यसबारे कसैले पनि समाचार नलेखेको स्मरण गरे। 

त्यति बेला नेपाल लाइफले आफुखुशी एफपिओको मूल्य निर्धारण गरेर नेप्से मार्फत मूल्य सार्वजनिक गरेको भन्दै बोर्डले नेपाल लाइफको कारोबार नै रोकेको थियो।  त्यस समय नेपाल लाइफले एक सय रुपैयाँ अंकित शेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो । तर पछि बोर्डले मूल्य नियम संगत नभएको भन्दै १३२५ रुपैयाँ मात्र प्रिमियम थप गरी एफपिओ निष्काशनको अनुमति दिएको थियो।  बोर्डको निर्णयपछि नेपाल लाइफले प्रति कित्ता १५२६ रुपैयाँ कममा एफपिओ बिक्रि गरेको थियो।

पुंजिबजारको बिकास तथा बिस्तारका लागि धितोपत्र बोर्ड सधैं लागिपरेको र आफ्नो क्षमताले भ्याएसम्म बोर्डले बजारको भलाई हुने काम गरेपनि केहि संचार माध्यमहरुले बिषयहरुलाई तोडमोड गरेको भन्दै अध्यक्ष कार्कीले भने, 'धितोपत्र बोर्डले लगानीकर्तालाई शिक्षित र सचेत बनाउने जसरि काम गर्दै आएको छ, त्यसमा मिडियाले पनि साथ दिनुपर्यो, नभनेको र नबोलेको बिषयलाई मोडेर नकारात्मक संदेश मात्र दिनु भएन।'

धितोपत्र बोर्डले बजारै ध्वस्त पार्नेगरि आइपीओ, एफपीओ र हकप्रद जारि गर्न दियो भनेर बजारमा फैलाइएको हल्ला पनि निराधार रहेको कार्कीको भनाई छ। 'तोकिएकै समयमा चुक्ता पुंजी पुर्याउनुपर्ने उनीहरुको योजना हुन्छ, त्यहि अनुसार बोर्डमा आबेदन दिन्छन, मापदण्ड पुगेकालाई हामीले अनुमति दिनै पर्छ, कहिले निष्काशन गर्ने भन्ने बिषय सम्बन्धित कम्पनीको स्वबिबेकको कुरा हो, यसमा हाम्रो कुनै भूमिका हुँदैन' अध्यक्ष कार्कीले भने। 

कार्यक्रममा प्रश्नहरुको जवाफ दिने क्रममा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले धितोपत्र बोर्डले शेयर आपूर्ति मात्र बढायो भन्ने आरोपको खण्डन गरेका छन। 'बोर्डले नियममा रहेर नै मापदण्ड पुगेका कम्पनीहरुलाई सार्वजनिक निष्काशनको अनुमति दिने हो, यसमा आपूर्ति बढ्छ भनेर बोर्डले रोक्ने भन्ने हुँदैन' गिरिले भने, 'शेयरबजारबारे लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गरेर शेयर शिक्षा दिदै आएको छ, अनलाइन ट्रेडिङलाई साउन देखि लागू गर्दैछ, ऐनले ढोका खोल्यो भने गैर आवासीय नेपालीको लगानी पनि भित्रिन्छ, नागरिक लगानी कोषलाई सहायक कम्पनी स्थापना गरि संथागत लगानीकर्ता तथा बजार निर्माताको रुपमा पुंजीबजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्न बोर्ड लागिपरेको छ, यी सबै कामले शेयरको माग बढाउने नै हो, त्यसैले बोर्डले आपूर्ति मात्र बढायो भन्ने कुरो सहि होइन।' 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved