नीति बनेपनि कहाँ अल्झियो बैंकलाई ब्रोकर लाइसेन्स ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 13, 2018 | 03:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई धितोपत्र व्यवसायीको कारोबार गर्न दिने नीतिगत व्यवस्था गरेपनि कार्यन्वयन हुन भने सकेको छैन। राष्ट्र आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति मार्फत २८ बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था भएपनि प्रक्रियागत बिषयमा देखिएको अस्पष्टताले यो प्रक्रिया लम्बिने देखिएको छ। 

५० वटा ब्रोकरमा सिमित शेयरबजारलाई देशब्यापी बनाउन र अहिले बढ्दो क्रममा रहेको शेयर आपूर्तिलाई व्यवस्थापन गर्न समेत बैंकलाई ब्रोकर लाइसेन्सको माग हुँदै आएको थियो। बैकलाई ब्रोकर लाइसेन्स दिने अभियान नै चल्यो। शेयरबजारमा बैंकहरुको शेयरको हिस्सा ७५ प्रतिशत माथि हुँदा ब्रोकर लाइसेन्स दिनुहुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता बिपरित राष्ट्र बैंकले बैंकहरुलाई ब्रोकर लाइसेन्सको बाटो खोलिदियो।

यस आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्थाले लगानीकर्तालाई बिशेषगरि राजधानी बाहिरका शेयर लगानीकर्ताले ठुलो राहत महसुस गरे। तर नीतिगत स्पष्टता भएपनि कहाँबाट कसरि प्रकृया थाल्ने भन्ने बिषय स्पष्ट नहुँदा बैंकले ब्रोकर सेवा दिन समय लाग्ने देखिएको छ। 

हामीकहाँ प्रस्ताब आइपुगेपछि बैंकले ब्रोकर लाइसेन्सको अनुमति पाउनेछन

नेपाल धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन बाटो बनाइदिनुपर्ने बैंकहरुको भनाई छ। तर धितोपत्र बोर्डले भने बैंकलाई ब्रोकर लाइसेन्स दिन आफुहरुले बाटो बनाउन नपर्ने बताउदै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रस्ताब नेप्से हुँदै आफूकहाँ आइपुग्नुपर्ने बताएको छ। धितोपत्र बोर्डका सहायक प्रवक्ता निरंजय घिमिरेले नेप्सेले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्यो भनेर प्रस्ताब पठाएपछि मात्र आफ्नो काम सुरु हुने बताए। 

'बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रस्ताब नेप्से मार्फत धितोबोर्ड आएपछी हामीले त्यसको अध्ययन गरेर अनुमति दिने हो' घिमिरेले बिजपाटीलाई भने, 'राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ, अब त्यहि अनुसार प्रकृया अगाडी बढाएर हामीकहाँ प्रस्ताब आइपुगेपछि बैंकले ब्रोकर लाइसेन्सको अनुमति पाउनेछन।' 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ दफा ३ मा ब्रोकर लाइसेन्स लिन चाहनेले नेप्सेको सिफारिस सहित बोर्डसमक्ष निवेदन दिनुपर्ने प्राबधान छ। 

'धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको रुपमा धितोपत्र व्यवसाय गर्न चाहनेले अनुमतिपत्र प्राप्त गर्नका लागि अनुसुची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिमको निवेदन दस्तुर संलग्न गरी धितोपत्र बजारको सिफारिश सहित बोर्डसमक्ष निवेदन दिनुपर्नेछ' नियमावलीमा उल्लेख छ। 

नेप्सेमा सिफारिस दिन बैंक आउनुपर्छ 

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको आशयपत्र अनुसार बैंकहरु ब्रोकर लाइसेन्स खोल्नका लागि नेप्से जानुपर्ने नेप्सेको भनाई छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले ब्रोकर लाइसेन्स खोल्न बैंकहरुले नेप्सेमा निबेदन दिनुपर्ने कानुनि व्यवस्था भएको बताए। 'सो निबेदन सहित नेप्सेले सम्बन्धित बैंकलाई ब्रोकर लाइसेन्स दिन धितोपत्र बोर्ड समक्ष निबेदन पेश गर्नेछ' पराजुलीले बिजपाटीलाई भने।

बैंकले ब्रोकर सेवा दिन अझैं ५-६ महिना लाग्छ

बैंकहरुको छाता संगठन नेपाल बैंकर संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंकहरुलाई ब्रोकर सेवा दिन अझैं ५-६ महिना लाग्ने बताए। 

राष्ट्र बैंकले अहिले नीतिगत व्यवस्था गरेपनि आफुहरुले पहिले देखिनै ब्रोकर लाइसेन्सको माग गर्दै आएको ढुंगानाले बिजपाटीलाई बताए। राष्ट्र बैंकले बिगतदेखिको अप्ठ्यारोलाई बाटो खोलिदिएपनि अब धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन बनाइदिनु पर्ने ढुंगानाको भनाई छ। 

राष्ट्र बैंकले सैदान्तिक अनुमति दिएपनि नियमन गर्ने अनुमति दिने काम धितोपत्र बोर्डको भएको बताउदै ढुंगानाले बोर्डले नै कस्तो मापदण्डलाई आधार मानेर लाइसेन्स दिने हो त्यो बोर्डले नै स्पष्ट पार्नुपर्ने बताए। नियामकको मापदण्ड अनुसार अर्को सहायक कम्पनी खोल्न बैंकहरुलाई केहि समय लाग्ने भएकाले बैंकहरुलाई ब्रोकर सेवा दिन ५-६ महिना लाग्ने उनको भनाई छ।  

कुनै पनि बैंकबाट लाइसेन्सको लागि अनुरोध आएको छैन 

कुनै पनि बैंकहरुबाट ब्रोकर लाइसेन्सको लागि अनुरोध नआएको बताएको छ। 'बैकहरुले सहायक कम्पनी खोलेर आएपछी राष्ट्र बैंकले दुई चार सर्त तोकेर अनुमति दिन्छ, अरु व्यवस्था धितोपत्र बोर्डले गर्ने हो' राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिजपाटीलाई भने। 

बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनका लागि राष्ट्र बैंकले कुनै कार्यविधि निर्देशिका जारि गर्नुनपर्ने पौडेलले बताए। हामिले मौद्रिक नीतिमा स्पष्ट रुपमा बैंकहरु 'आएमा' ब्रोकर सेवा दिन अनुमति दिने भनेका छौँ, त्यसैले सबैभन्दा पहिले बैंकहरुनै लाइसेन्सको लागि अनुरोध लिएर राष्ट्र बैंक आउनुपर्यो' उनले भने। 

अहिले बैंकहरुले चलाएका मर्चेन्ट बैंकहरुबाट नै ब्रोकर सेवा दिन पाइन्छ कि पाइदैन भन्ने प्रश्नको जवाफ दिंदै पौडेलले भने, 'अहिले बैंकले चलाएका मर्चेन्ट बैंकहरुले त्यहि सहायक कम्पनीबाट ब्रोकर सेवा दिन मिल्दैन, तर पछि छलफल भयो वा पहल भयो भने बैठक बसेर पुनर्विचार गर्न सकिन्छ'  

निष्कर्ष:

सरोकारवाला र नियामकहरुको भनाईलाई आधार मान्दा सम्बन्धित पक्षहरुबीच समन्वय अभाब देखिएको छ। बर्षौंदेखि बैकलाई ब्रोकर सेवा दिनुपर्छ भन्ने लगानीकर्ताको माग बल्ल बल्ल कार्यन्वयन हुँदा समेत ब्रोकर लाइसेन्स लिने दिने बिषयमा सरोकारवालाहरुबीच कसले अग्रसरता लिने भन्ने बिषयमा अन्यौल देखिएको छ। 

बैंकमार्फत ब्रोकर सेवा हुँदा शेयरबजार देशब्यापी रुपमा फैलिने र बढ्दो सेयर आपूर्तिको समस्या समाधान होला भन्ने लगानीकर्ताको अपेक्षा पुरा हुन अझैं केहि समय पर्खनुपर्ने भएको छ। 


  


   


      




 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved