मध्य भोटेकोशीको आईपिओमा आवेदन दिन विवाह दर्ता प्रमाणपत्र अनिवार्य !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 08:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । 

सबै आवेदकहरुले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । यसका साथै शेयरमा आवेदन दिंदा आफ्नो विवाह दर्ताको प्रमाणपत्र पनि आवश्यक पर्न सक्ने भएको छ  । सि आस्वा मार्फत भोटेकोशीको आईपिओ भर्दा अपनाउनु पर्ने तरिका, आउँन सक्ने समस्या र त्यसको समाधानको लागि उपाय खोज्न बिहिबार भएको सम्बन्धित सरोकारवालाहरुको छलफलमा विवाह दर्ता प्रमाणपत्र बारे पनि छलफल भएको हो ।

छलफलमा बैंकहरुले विवाहित महिलाहरुको हकमा डिम्याट खाता खोल्दा एउटा नाम हुने तर तर विवाहपछि थर परिवर्तन गरी अर्कै नाम हुने हुँदा असहज भएको गुनासो व्यक्त गरेका थिए । बैंकहरुले खाताको नाम र  डिम्याट खातामा उल्लेख भएको नाम ठ्याक्कै नमिले राष्ट्र बैंकको कानुन अनुसार उक्त आवेदन भेरिफाई गर्न नसक्ने जनाएका थिए । यसको समाधान स्वरुप खातामा थर फरक भएका विवाहित महिलाहरुले विवाह दर्ता प्रमाणपत्र पनि पेश गर्नु पर्ने सुझाव आएको हो । सिडीएस पनि यसमा सकारात्मक रहेको र नियामक निकायसंगको छलफलपछि औपचारिक निर्णय गरेपछि मात्र यो कार्यन्वयन हुने भएको छ ।

बैंकहरुले कि थर फरक भए पनि आवेदन भेरिफाई गर्न स्पष्ट निर्देशन दिनु पर्ने वा थर फरक भए व्यक्ति एकै हो भनी प्रमाणित गर्न कुनै कागजात पेश हुनु पर्ने माग गरेका थिए । 

कर्मचारी संचय कोष भने विवाह दर्ता प्रमाणपत्रलाई अनिवार्य गर्न नहुने पक्षमा देखिएको छ । छलफलमा कोषका एक बरिष्ठ प्रबन्धक निर्देशकले आफुहरुले सबै संचयकर्ताले सहज रुपमा शेयरमा आवेदन दिन सकुन भन्ने पक्षमा रहेकोले विवाह दर्ता प्रमाणपत्रले संचयकर्तालाई असहज बनाउने टिप्पणी गरेका थिए । उनले सबै संचयकर्ताको युनिक आईडी रहेकोले त्यस आईडी अनुसार आवेदन भेरीफाई गर्दा हुने सुझाव दिएका हुन् ।

तर बैंकहरुले बिगतमा रसुवागढी र सान्जेंनको आईपिओ भर्दा ४ जनासम्मको एउटै युनिक आइडी फेला परेको भन्दै त्यस अनुसार गर्न कठिन हुने बताएका थिए ।

यस आईपिओमा २०६८ मङ्सिर २२ मा कायम रहेका र त्यस पश्चात २०७५ असोज २९ गतेसम्ममा संचय कोषमा कायम रहेका संचयकर्ताले आवेदन दिन पाउने छन्   । संचयकर्ताको लागि कुल पुंजीको १९.५ प्रतिशत अर्थात् १ करोड १७ लाख कित्ता शेयर छुट्याइएको छ ।

त्यस्तै संस्थापक शेयरधनी संस्थाका कर्मचारीले पनि यस आईपिओमा आवेदन दिन सक्ने छन् । यस समुहमा चिलिमे जलविद्युत कम्पनी, नेपाल बिद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, तथा सिन्दू भोटेकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारी रहेका छन् । यस समुहको लागि कुल पुंजीको ३.५ प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर छुट्याइएको छ 

त्यस्तै कर्मचारी संचय कोषका कर्मचारीहरुले पनि यस आईपिओमा आवेदन दिन पाउने छन् । यस समुहलाई १ प्रतिशत अर्थात् ६ लाख शेयर छुट्याइएको छ 

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन र बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल रहेका छन्।


यो पनि : 

मध्य भोटेकोशीले कार्तिक २८ देखि डेढ अर्बको आईपिओ निष्काशन गर्ने, क-कसले दिन पाउंछ आवेदन ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved