सेयरबजारको गिरावट: अनलाइन कारोबारको झमेला कि ब्रोकर र नेप्सेबीचको बेमेल ? (टिप्पणी)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 11, 2018 | 07:51:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा अनलाइन कारोबार प्रणालीको पर्खाईमा रहेका लगानीकर्तालाई बजारको अवस्थाले निराश बनाएको छ। अनलाइन कारोबार प्रणाली उद्घाटनकै दिन सेयर कारोबारमा देखिएको प्राविधिक त्रुटीले लगानीकर्तामा अनलाइन कारोबारप्रतिको बिश्वास घटाउने काम गर्यो। 

तिहार बिदाअघिको सेयर कारोबारमा देखिएको प्राविधिक गढबढीले तिहार बिदापछिको पहिलो दिनमा समेत निरन्तरता पायो। जसले गर्दा लगानीकर्ता झनै चिढिए। अनलाइन कारोबार प्रणालीको उद्घाटन सत्रकै दिन देखिएको प्राविधिक समस्याले कारोबार रकम ३ करोडमा सिमित भयो भने तिहार बिदापछिको पहिलो दिन कारोबार रकम १० करोडमै सिमित भयो। कारोबार रकम ओरालो लाग्दै गर्दा नेप्से परिसूचक समेत डबल डिजिटले घट्न पुगेको छ। 

आइतबारको कारोबारमा नेप्से परिसूचक १६.७४ अंकले घटेर १२०५.७९ को बिन्दुमा ओर्लिएको छ। यसरि अनलाइन कारोबार लागू भएपछि कारोबार रकम र सूचकमा आएको गिरावटका कारण सेयरका लगानीकर्तामा चिन्ताको साथसाथै नेप्सेप्रति आक्रोस बढेको छ। के कारोबार रकम र नेप्से परिसूचक घट्नुमा नेप्से जिम्मेवार छ या कारण अरु नै केहि छ ?

अनलाइन कारोबार लागू भएको दिन विभिन्न सेटिङहरु मिलाउनु पर्ने र डाटा सार्ने काम पनि संगसंगै गर्नुपर्ने भएकाले सेयर कारोबार गर्न समस्या देखिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको भनाई छ। 

तिहार बिदापछिको पहिलो दिनको कारोबारको सुरुवाती समयमानै नेप्सेको वेबसाइटमा समस्या नदेखिएको भने होइन। कारोबार खुलेलगत्तै नेप्से  १८ अंकले घटेको देखाइएको थियो भने केहि क्षणमा नै सबै सूचकहरु शुन्य देखिएको थियो। कारोबार खुलेको पहिलो ८ मिनेट भित्र नै नेप्से १८ अंकले घट्ने, शुन्य अवस्थामा पुग्ने र फेरी हरियो देखिने भएको थियो। 

त्यस्तै समयपनि कहिले तिहारअघिको, कहिले आजको र कहिले ३ बजिसकेको देखिन्थ्यो भने फ्लोरसिटमा तथा सेयर मुल्य गणनामा समेत 'सिल्ली मिस्टेक' देख्न सकिन्थ्यो (यस प्रकारका समस्याका सबै स्क्रिन सट बिजपाटीसंग सुरक्षित छ)। यस प्रकारका समस्या नेप्सेको वेबसाइटमा देखिंदा कारोबार निरन्तर चलिरह्यो त्यहिपनि कारोबार रकममा भारि गिरावट देखियो। कारोबार रकममा गिरावट आउनुमा बिभिन्न कारणहरु रहेको पत्ता लागेको छ। 

अनलाइन कारोबार प्रणालीका लागि सेयर ब्रोकरहरुको तयारी नपुगेकाले त्यसको प्रत्यक्ष असर कारोबार रकममा देखिएको छ। तिहार बिदापछिको पहिलो दिन आइतबारको कारोबारमा करिब दर्जन सेयर ब्रोकरले दिनको डेढ बजेसम्म कुनै कारोबार नै गर्न सकेनन। अनलाइन कारोबारको प्रणाली नखुलेपछि ति ब्रोकरहरु नेप्से कार्यालय पुगे र त्यहाँ केहि क्लास लिएर फर्के। यसरि ११ बजेदेखि सुरु हुने सेयर कारोबार दर्जन बढी ब्रोकरहरुले डेढ बजेसम्म पनि सुचारु गर्न सकेनन। जसले गर्दा ति ब्रोकरहरुबाट कारोबार गर्ने लगानीकर्ताको सेयर कारोबार ठप्प भएको छ। जसको सिधाअसर कारोबार रकम र नेप्से परिसुचकमा देखिएको छ। 

अनलाइन कारोबार प्रणाली चलाउन प्रत्येक ब्रोकरमा कम्तिमा पनि एउटा इन्जीनियर हुनुपर्ने नेप्सेको निर्देशन थियो। तर अहिलेपनि अधिकांश ब्रोकरहरु इन्जिनियर बिहिन अवस्थामा छन। जसले गर्दा सर्वसाधारणको सेयर कारोबार गरिदिने ब्रोकर आफै कारोबार गर्न नसक्ने र साना साना प्राविधिक समस्यामा पनि नेप्से कार्यालय धाउनुपर्ने अवस्थामा छन। यसलाई ब्रोकरहरुको लापरवाहिको रुपमा लिइएको छ। 

अनलाइन कारोबार प्रणाली अहिलेलाई ब्रोकरहरुको पहुँचमा मात्र छ। लगानीकर्ताले पुरानो तरिकाबाटै सेयर खरिद बिक्रिको आदेश दिएका छन र त्यसलाई ब्रोकरहरुले अनलाइन प्रणाली मार्फत काम गरिरहेका छन। ब्रोकरहरुले अहिलेकै अवस्थामा काम गर्न नसक्ने र उनीहरुले आफ्नो तयारीलाई तिब्र रुपमा चुस्त बनाउनुपर्ने नेप्सेका एक अधिकारिले बताए।     

अर्कोतर्फ सेयरबजारमा ठुलो हिस्सा ओगटेको बैंकिङ समुहका तीन वटा बाणिज्य बैंकहरुले नगद लाभांश दिने घोषणा गरेका छन। जस कारण बोनस र हकप्रदको भरमा लगानी गर्ने लगानीकर्तामा नकारात्मक प्रभाब परेको छ। अन्य बैंकहरुले पनि नगदलाई नै प्राथमिकता दिने लगानीकर्ताको पूर्वानुमानले सेयर मुल्य घट्दा परिसूचकमा गिरावट देखिएको विश्लेषण गरिएको छ।

त्यसैले अनलाइन कारोबार प्रणालीकै कारण सेयर बजारमा कारोबार रकम र परिसूचकमा गिरावट नआएको विश्लेषण गरिएको छ। जति चांडो    नेप्से र ब्रोकरबीचको तालमेल मिल्छ त्यति नै छिट्टो अनलाइन कारोबार प्रणालीको सकारात्मक असर सेयरका लगानीकर्ताले महसुस गर्न पाउने विश्लेषण गरिएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved