ऋणी र ऋणपत्रको मुल्यांकनको दायरा विस्तार गर्न धितोपत्र बोर्डको पहल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 01:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रेडिट रेटिङ्ग व्यवसायको क्षेत्र विस्तारका लागि नेपाल धितोपत्र बोर्डले छलफललाई तिब्र पारेको छ। यहि क्रममा बोर्डले बैंक तथा वित्तीय संस्थाबाट रिने लिने ऋणीहरु तथा स्थानीय सरकारले जारि गर्ने ऋणपत्रको शाख मूल्यांकनको सम्बन्धमा सरोकारवाला पक्षहरुसंग छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ। 

कार्यक्रममा वोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने वोर्डको कार्यक्रम बमोजिम वित्तिय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने साथै स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताए। अध्यक्ष कार्कीले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा सूचिकृत कम्पनीहरुको रेटिङ्गको व्यवस्था गरिएकोमा यसबाट यो व्यवसायको महत्व तथा कार्यक्षेत्र उल्लेखनीय रुपमा बढ्ने गएको धारणा व्यक्त गरे।

बोर्डले इक्रा नेपालका विज्ञ किशोर प्रसाद विमली तथा केयर रेटिङ्गस नेपालका कार्यकारी प्रमुख साजन गोयल लगायतका सरोकारवाला व्यक्तिहरुसंग यस आर्थिक बर्षको कार्यक्रममा रहेको वैंक ऋणीको क्रेडिट रेटिङ्ग प्रक्रिया, रेटिङ्ग गरिएका संगठित संस्थाहरु सम्वन्धी विवरण, रेटिङ्ग फि संरचना लगायतको विषयमा छलफल गरेको छ।        

नगर विकास कोषहरुसंग समन्वय गरी हाल पाँच नगरपालिकाहरुको रेटिङ्ग गर्ने प्रक्रिया समेत शुरु भएको र सो रेटिङ्गका आधारहरुको सम्वन्धमा समेत प्रस्तुती गरिएको थियो। कार्यक्रममा वोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्याल, अर्का कार्यकारी निर्देशक निरज गिरि तथा बोर्डका कर्मचारीहरुको सहभागिता थियो।        

रेटिङ्ग व्यवसायको क्षेत्र विस्तार हुँदै गर्दा गत वर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त गरेकाले क्रेडिट रेटिङ्ग कम्पनी दुई भई क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भएको बोर्डको बिश्वास छ। हालै मात्र वोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र समेत प्रदान गरेको छ  ।   

वित्तिय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नु पर्ने व्यवस्था यसै वर्ष शुरु भए अनुसार यस आर्थिक बर्षको पहिलो ४ महिनामा १० वटा यस्तो रेटिङ्ग भैसकेको र सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको बोर्डले जानकारी दिएको छ।  गत आर्थिक बर्षकोे यही अवधिमा सार्वजनिक निष्काशनको सात वटा रेटिङ्ग भएको थियो। 

बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली तथा धितोपत्र सूचीकरण विनियमावलीमा सूचिकृत कम्पनीहरुको रेटिङ्गको आधारमा नेप्सेमा “ए” र “बी” वर्गमा वर्गीकरण हुने व्यवस्था गरेकोमा सोही बमोजिम सूचिकृत कम्पनीहरुले रेटिङ्ग गरी सोको आधारमा नेप्से मार्फत वर्गीकरण गर्ने कार्य समेत शुरु भैसकेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved