के इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई दिने निर्णयले शेयरबजार घटेको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 06:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्ष सुरु भएयता शेयर बजार परिसूचक नेप्से ५० अंक भन्दा धेरैले घटेको छ। यस साता चार दिन कारोबार भएकोमा यस अवधिमा सूचक ५३.५४ अंकले घटेर १९७२ को बिन्दुमा ओर्लिएको छ। यस साताको ४ कारोबार दिन मध्ये ३ दिन नेप्से सूचक दोहोरो अंकले घटेको छ । नेप्सेको निरन्तर घटाईको कारणलाई बजारमा बिभिन्न कोणबाट ब्याख्या गरिएको छ।


केहिले शेयरबजारप्रति नेपाल सरकारको उदासीनतालाई नेप्से घट्नुको जिम्मेवार ठहराएका छन् भने केहिले शेयर बजारमा नेपाल प्रहरीको प्रवेशको विषयलाई प्रमुख कारण भनेका छन्।  हिजोसम्म नेपाल धितोपत्र बोर्डको अधिकार क्षेत्रमा रहेको शेयरको इन्साइडर ट्रेडिङको अनुसन्धानको जिम्मेवारी खोसेर सरकारले नेपाल प्रहरीलाई दिएकाले शेयर बजारमा त्यसको प्रभाव देखिएको चर्चा छ। 


संघीय संसदले बनाएको  'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक'  २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ। सो ऐनले धितोपत्र ऐन पनि संशोधन गरेको छ । यस अघि इन्साडर ट्रेडिङ नेपाल धितोपत्र बोर्डले हेर्ने गरेकोमा अहिले यसको जिम्मा नेपाल प्रहरीलाई दिईएको छ।  यदि कसैले भित्री कारोबार,  झुट्टा कारोबार, मूल्यमा उतार चढाव गराउने कारोबार,धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त कारोबार, र जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा  यी विषयमा धितोपत्र बोर्ड आफैले अनुसन्धान गरेर बोर्ड आफैले नै अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था थियो । अब भने बोर्डले प्रारम्भिक अनुसन्धान गर्ने र बाँकि अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई र मुद्दा दायर गर्ने जिम्मेवारी सरकारी वकिललाई दिइएको हो ।


कतिपयले यहि व्यवस्थाले बजार घटेको बताउने गरेका छन् । तर अग्रज लगानीकर्ता छोटेलाल रौनियार भने यो कारणले नभई अर्थ मन्त्रालयले लगानीकर्ताको हितमा कम नगरेर बजार घटेको बताउछन् । अर्थमन्त्रीले आफ्नो प्रतिवद्दता अनुसार काम नगरेको, गर्छु भनेको सुधारको कम नगरेको, मन्त्री भए लगत्तै नेप्से, सीडिएस, धितोपत्र बोर्ड बाट लिएका सुझावहरु कार्यान्वयनमा चासो नदिएको, बोर्डले सिफारिस गरेको ब्रोकर कमिशन नघटाएको तथा बजार सुधारको लागि कुनै पनि काम नगरेकोले लगानीकर्ताको 'कन्फिडेन्स' घट्दा बजार घटेको रौनियारको भनाई छ  ।


तर इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई जिम्मा दिने विषय भने गलत रहेको रौनियार बताउछन्। शेयरबजारको सर्वोच्च निकाय नै धितोपत्र बोर्ड भएकोले यस्ता अनुसन्धान पनि बोर्डले नै गर्नु पर्ने उनको भनाई छ। प्रहरीलाई शेयरबजारको प्राविधिक विषयको ज्ञान नहुने भएकोले प्रहरीले यस्ता अनुसन्धान गर्न नसक्ने उनी बताउछन् । धितोपत्र बोर्डले आवश्यक परेको खण्डमा प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरिनु पर्नेमा सबै अनुसन्धान नै प्रहरीले गर्ने विषय व्यवहारीक नहुने उनको भनाई छ  । यद्यपि गलत काम नगर्नेहरु यो व्यवस्थाबाट आत्तिनु नपर्ने रौनियार बताउछन्  । यो व्यवस्था गरिएको कारण बजार नघटेको उनको भनाई छ ।


नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल पनि रौनियारको भनाईमा सहमत देखिन्छन्। शेयर बजारको भित्रि कारोबारको अनुसन्धान गर्न धितोपत्र बोर्ड आफै सक्षम रहेको र सक्षम हुनु पर्ने उनको भनाई छ  । तर प्रहरीलाई जिम्मा दिएर यो विषय के कसरी कार्यान्वयन हुने वा अगाडी बढ्ने अहिले प्रष्ट नभएकोले अहिले नै यसमा टिप्पणी गर्न नसकिने उनको धारणा छ  । तर पुँजीबजारको सम्पूर्ण गतिविधिको अनुसन्धान र छानबिन बोर्डले नै गर्नु पर्नेमा उनी प्रष्ट छन् ।


प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको कारण बजार घटेको भन्ने विषयमा उनी सहमत छैनन्  । सरकारले शेयरबजारलाई चासो नदिएको, धितोपत्र बोर्डमा अध्यक्ष पनि नियुक्त गर्न नसकेको, बजारलाई वेबारिसे जस्तो छोडेको, अर्थमन्त्रीबाट प्रतिवद्दता अनुसारको काम नहुँदा लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको कारण बजार घटेको उनको भनाई छ  । बजार बढ्नको लागि अब सरकारले केहि नीतिगत सुधार गरेर लगानीकर्ताको कन्फीडेन्स बढाउनु पर्ने ढकाल बताउछन् । 


सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल पनि प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको कारण बजार घटेको भन्ने मान्न तयार छैनन् । सरकारको कारण नै लगानीकर्ता त्रसित रहेको र त्यसकै कारण बजार घटेको उनको भनाई छ । अर्थमन्त्रीले मन्त्री हुँदा जनाएका प्रतिवद्दताहरु भाषण मै सिमित भएको, देखिने गरि कुनै पनि सुधारका काम नभएको, लगानीकर्ता महशुस गर्ने खालको कुनै पनि परिवर्तन नभएको, ब्रोकर कमिशन घटाउने विषयमा पनि निर्णय नदिएको, पोजेटिभ सेन्टिमेन्ट ल्याउन नसकेको, राष्ट्र बैंकबाट सामान्य सर्कुलर जारी गरेर सम्बोधन गर्न सकिने जोखिम भार र ऋणको सीमाको विषय सम्बोधन नगरेको लगायतका कारण लगानीकर्ता विश्वस्त हुन नसकेकोले बजार घटेको उनको भनाई छ । ब्याज कम रहेको र , बैंकमा टन्नै लगानीयोग्य रकम हुँदा पनि कर्जा प्रवाह हुन नसकेको त्रसित वातावरण रहेकोले नीतिगत सुधार गरेर सरकारले लगानीकर्तालाई आश्वस्त पार्नु पर्ने उनी बताउछन्। नीतिगत सुधार भए मात्र बजारले गति लिने फुल्लेलको भनाई छ ।


 इन्साइडर ट्रेडिङको विषयमा भने छानबिन र अनुसन्धान हुनु पर्ने र त्यो प्रहरीले नभई धितोपत्र बोर्ड वा बोर्ड अन्तर्गत कै संरचनाबाट हुनु पर्ने उनको भनाई छ । पुँजीबजारको प्रमुख निकाय धितोपत्र बोर्ड रहेको र इन्साइडर ट्रेडिङ लगायत अन्य गैर कानुनी विषयको छानबिन र अनुसन्धान पनि बोर्ड वा बोर्ड मातहत कै निकायबाट हुनु पर्ने फुल्लेल बताउछन् । 


नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भने फरक मत देखिन्छ । इन्साइडर ट्रेडिङको अनुसन्धानको जिम्मा प्रहरीलाई दिने ऐनको व्यवस्थाले नै बजार घटेको उनको बुझाई छ । यो व्यवस्थाले गर्दा बजारमा रहेका ठूला ब्यापारी डराएको पोखरेल बताउछिन्। पुँजीबजारमा भएका गतिविधिको अनुसन्धानको जिम्मा प्रहरीलाई दिंदा बजार माथि उठ्न नसक्ने उनको भनाई छ । बजारमा हुने गैर कानुनी गतिविधि रोक्ने काम धितोपत्र बोर्डको भएकोले बोर्डले नै यो काम गर्नु पर्ने उनको भनाई छ ।  उनी प्रश्न गर्दै भन्छिन् 'बोर्डले गर्नु पर्ने कामको जिम्मा प्रहरीलाई दिने हो भने बोर्डको के काम ?' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved