बिजपाटी सम्बाददाता     Feb 11, 2019 | 06:51:50 PM



dace

माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन रुपैया अनुदान दिन थालेको छ । 

उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । दूध उत्पादनका आधारमा ६ महीनामा १९ लाख अनुदान वितरण गरिएको उनले बताए । एक जना किसानले एक लाख बराबरको अनुदान प्राप्त गरेको उनको भनाई छ |

नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए  । 

गत आवमा पशुपालनका लागि माडीमा झण्डै ५६ लाख अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बङ्गुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा दुई करोड २८ लाख विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी बिए । 

उनले भने, “न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ ।” गोठ निर्माणका लागि तीन हजार ५ सयसम्म र गाई किन्न ४० हजार अनुदान दिइने अधिकारीले बताए । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएकोबताए । नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको उनको भनाई छ । 

माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । गत वर्ष माडीमा डिडिसीले दैनिक तीन हजार ५ सय देखि चार हजार लिटरसम्म दूध सङ्कलन गर्ने गरेको थियो । यस वर्ष दैनिक पाँच हजार लिटर दूध सङ्कलन गरिरहेको छ । एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ । माडीमा करीब २०० व्यावसायीक पशुपालक किसान रहेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7