डोजर आक्रमणमा ८ जना घाइते, ४ प्रहरी नियन्त्रणमा

रासस

रासस

Oct 22, 2019 | 02:14:54 PM मा प्रकाशित

laxmi  sunrise bank

डोजरबाट आक्रमण हुँदा बैंतडीमा आठ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । 

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

प्रहरीका अनुसार घटनामा अन्य ६ जना पनि सामान्य घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् । 

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबर्जस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए । सडक निर्माण हुने ठाउँमा देवताको गुठीको जमीन पर्ने र यो विषयमा सबै गाउँलेसँग सहमति गरेर अघि बढ्ने भने पनि निर्माण पक्षले जबर्जस्ती गरेको उनले बताए । 

सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका विषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिति आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए । उनले भने, “आफूहरुको जमीनमा जबर्जस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिति आएको हो ।” तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासि आएर डोजरमा ढुङ्गामुढा गरेपछि झडपको स्थिति आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासि डोजरमा ढुङ्गामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए । 

पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भइरहेकाले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको ढुङ्गामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ । ग्वाल्लेकमा निर्माण भइरहेको सडकका विषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । 

डोजर चालकसहित चार पक्राउ 

डोजरले स्थानीयलाई हुत्याएको चिडियो सार्वजनी भएसँगै डोजरचालक दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन ।  

रासस


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved