९८ हजार २६८ युवालाई म्यादी प्रहरीमा जागिर खुल्यो, यस्तो छ तलब र सुविधा

असोज २४ देखि असोज ३० सम्म दरखास्त खुला
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 08:09:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ९८ हजार २६८ युवाका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले आज असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइनेगरी भर्ना खुलाएको हो। 

राजधानीको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालमा दरखास्त बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ। 

तर नेपाल प्रहरीका अनुसार नवलपरासी र रुकुमको हकमा भने पहिलेकै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने छ। म्यादी प्रहरीका लागि इच्छुक आवेदकको दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ ननाघेको हुनु पर्नेछ।  

साधारण लेखपढ गर्न जान्ने जोकोही नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। यद्यपी सुरक्षा निकायमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ। 

असोज ३० गतेसम्म आवेदन संकलन भएपछि आवेदन दिएकोले कात्तिक १ गते आवेदन बुझाएको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनौट प्रारम्भ हुनेछ। १० गते छनौट भएकाहरुको नतिजा सार्वजनिक गरिनेछ। छनौट भएकालाई कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिइनेछ। 

म्यादी प्रहरीले ५५ दिन खटिएबापत प्रहरी जवानले पाएसरहको तलव, भत्ता र सुविधा पाउने छन्। जसमा आधारभुत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले राशन, पारिश्रमिक र स्थानीय भत्ता समावश छ। 

त्यस्तै निर्वाचनको दिन सात दिनको लागि प्रति दिन २५० रुपैयाँका दरले विशेष भत्ता र २५० रुपैयाँ नै खाजा खर्च पाउने छन्। म्यादीमा छनौट भएकाले ४ हजार पोसाक भत्ता पाउने छन् भने बाटो खर्च स्वरुप एक हजार रुपैयाँ पनि पाउने छन्। यो सबै गर्दा म्यादी प्रहरीले करिब ४० हजार रुपैयाँ पाउने छन्। 

म्यादी प्रहरी बनेर निर्वाचनको सुरक्षा दिने कर्तब्य पालना गर्ने र आम्दानी पनि गर्न चाहनेले दरखास्त फारमको लागि यहाँ क्लिक गर्नुहोस्। यस फारम भरेर साथमा पिपि साइजका दुई फोटो, नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रतिलिपी र सुरक्षा निकायमा काम गरेको अनुभव भएमा सोको प्रतिलिपी समेत प्रहरी परिसरमा लगी बुझाउनुपर्नेछ।



 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved