निधिलाई मधेशी जनतासँग भोट माँग्ने नैतिकता छैन: राजेन्द्र महतो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 06:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । 

महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने,‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ । आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ।’

मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । महतोले अघि थपे,‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ । मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ। उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशी जनताले सफलता पाउनेछन्।’

सोही क्षेत्रबाट कांग्रेसबाट उम्मेद्धवार समेत रहेका निधिप्रति निकै कडा रुपमा प्रस्तुत भएका महतोले अब निधिलाई जनताले नपत्याउने ठोकुवा गरे । उनले थपे,‘जसको सन्तानलाई गोली हानेर हत्या गर्नेले त्यही पीडित परिवारसँग अब के भनेर भोट माँग्छन, यो त हुनै सक्दैन, यो निर्वाचन क्षेत्र नम्बर ३ मा पनि हुँदैन, र धनुषामा पनि हुँदैन।’

उनले जनकपुरवासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को पनि नभाँचेको आरोप लगाए । उनले थपे,‘यो जनकपुरको अवस्था हेर्नुहोस्, यो निधि जहिल्यैपनि सरकारमा बस्यो, अहिले चुनावमा कुन आधारमा जनताको समर्थन लिन खोजेको हो ? मैले त बुझ्न सकेको छैन, त्यसैले अब उनले चुनाव जित्ने त कुरा परै जाओस्, मत माँग्ने पनि नैतिकता छैन, अब जनता विगतमा गरेको गल्ती दोहोर्याउने पक्षमा छैनन।’

महतोले निधिसँग जनकपुरका जनताले बदला लिने समेत दाबी गरे । उनले आफू सर्लाहीको मान्छे धनुषा आएको विषयलाई ठूलो नबनाउन आग्रह गर्दै भने,‘आन्दोलनकारीको कुनै गाउँ, घर, क्षेत्र र जिल्ला हुँदैन, हामी अहिलेपनि आन्दोलनकै क्रममा छौं, विगतमा ६÷६ महिना विरगन्जमा गएर आन्दोलन गरें, कहिले जनकपुर त कहिले विराटनगरमा गएको छु, यो निर्वाचनमा पनि हामी आन्दोलन गर्न आएका हौं।’

महतोले जनकपुरको आत्मा मिथिला भएको भन्दै यसलाई स्मार्ट सिटी र साँस्कृतिक नगरीको रुपमा विकास गर्ने आफ्नो अठोट रहेको सुनाए । उनले थपे,‘धार्मिक पर्र्यटनको विकास हुन्छ । जनकपुर भनेको नै संस्कृतिको धरोहर छ । पर्यटनको हब बनाउन सकिन्छ । जनकपुर नमुना शहर बनाउनुपर्छ । मधेशको नाक भनेको जनकपुर नै हो । प्राथमिकताका साथ विकास गर्नुपर्छ । त्यो म गर्छु।’

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved