५ दलले मात्र थ्रेसहोल्ड कटाए, एमालेको सबैभन्दा बढी मत, हाम्रो पार्टीको जम्मा ४२६ मात्रै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 09, 2018 | 04:20:11 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या तोक्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिकतर्फ ४९ वटा राजनीतिक दलले निर्वाचन आयोगमा बन्दसूची बुझाए पनि ५ वटा राजनीतिक दलले मात्रै समानुपातिकतर्फ ३ प्रतिशत मत कटाएका छन्। 

बन्दसूची पेश गरेका राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा प्राप्त गरेको कूल सदर मत ९५,४४,७७९ (पन्चान्नब्बे लाख चवालिस हजार सात सय उनासी) रहेको निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए। 

आयोगले दिएको जानकारी अनुसार सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ भने  सबैभन्दा कम हाम्रो पार्टीले ४२६ (०.००४५) मत प्राप्त गरेको छ। 

दोस्रोमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको छ । कांग्रेसले ३६.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ भने जम्मा उसले १५.३ प्रतिशत मत प्राप्त गरेको छ । राजपा नेपालले ४ लाख ७२हजार २५४ मत प्राप्त गरेको छ जम्मा सदर मतको ५.५ प्रतिशत मत रहेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत प्राप्त गरेको छ । फोरम नेपालको पनि ५.५ प्रतिशत रहेको छ ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा नेपालले ६ र  फोरम,नेपालले ६ सिट प्राप्त गरेका छन् । 

नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।


राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा एमालेले कम्तीमा ३७ जना, कांग्रेसले कम्तीमा २० जना, माओवादी केन्द्रले कम्तीमा १६ जना, राजपा नेपाल ले कम्तीमा ६ जना र फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ। 

दलहरुले सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ दिन भित्र अर्थात् माघ २७ गतेदेखि माघ २९ गते साँझ ५ बजे (कार्यालय समय) भित्र दलहरूले नामावली निर्वाचन आयोगमा पेश गर्नुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved