'मन्त्री पण्डितले कर्मचारीको अपमान गरे, हुकुमी शैलीको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 23, 2018 | 06:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank


आधिकारिक ट्रेड यूनियन तथा विभिन्न कर्मचारी संगठनहरुका नेताहरुले स्वेच्छिक अवकाशको व्यवस्था कार्यान्वयन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पछिल्ला अभिव्यक्ति असान्दर्भिक रहेको टिप्पणी गरेका छन् । 

‘पछिल्लो समयमा उहाँले जुन रुपमा कर्मचारीहरु माथि प्रहार गर्नुभएको छ, यो हुकुमी शैली हो, हेपेर बोल्नुभएको छ, कर्मचारीहरु खटाईएको स्थानमा गईसकेका छन्।’ उनले भने, '‘खटाईएका स्थानमा पुगेर कर्मचारीहरुले हाजिर लगाएका छन्, बरु काम गर्ने वातावरण छैन्, बस्ने कुर्सी छै्नन, यी लगायत यावत समस्याहरु हामीले सुन्नुपरेको छ।’

त्यस्तै नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोईरालाले स्वेच्छिक अवकासको व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।  उनले भने,‘संविधान र ऐनमा भएको व्यवस्थालाई भाषणमा बोलेर हुकुमी शैलीमा कर्मचारीलाई धम्की दिने काम भएकोछ, यो हाम्रो लागि स्विकार्य छैन्, जिम्मेवार व्यक्तिले कुन भाषा बोल्ने र कर्मचारीहलाई कसरी काम गर्ने वातावरण मिलाउने भन्ने कुराको बारेमा जानकार हुनुपर्छ, दानापानी बन्द गर्छु, मानसिक सन्तुलन गुमाएको जस्ता शब्दहरु मन्त्रीले फिर्ता लिनुपर्छ।’

उनले अघि थपे,‘कर्मचारी समायोजन वैज्ञानिक रुपमा हुनुपर्छ, अपमानजनक रुपमा होईन, हामीले कहिल्यैपनि स्वेच्छिक अवकासको माग गरेका होईनौं, सरकारले २० वर्षमाथि मुलुकको सेवामा सर्मपित कर्मचारी र ५० वर्ष नाघेका कर्मचारीको हकमा लागू हुनेगरि यो व्यवस्था ऐनमा ल्याएको हो, जस्ताको त्यस्तै लागू हुनुपर्छ, यो नालापानीको युद्ध होईन, अंग्रेजहरुले पानीको मुहान सुकाएजस्तो कर्मचारीको तलव रोक्ने र काममा पठाउँछु भन्नु आँफैमा जायज छैन्, हाम्रो संगठन एमालेनिकट नै भएपनि सरकारको भाषा गैर–जिम्मेवारपूर्ण छ, सच्याउनुपर्छ।’

त्यस्तैनेपाल निजामति कर्मचारी यूनियन संघका अध्यक्ष गोपाल पोखरेलले सामान्य प्रशासनमन्त्रीले बोलेको भाषाले कर्मचारीमा निरासा छाएको गुनासो पोखेका छन् । उनले भने,‘मन्त्रीजस्तो व्यक्तिले दिनहुँ यसरी कर्मचारीको मनोवल गिर्नेगरि बोल्नु उचित होईन, संक्रमणकालिन अवस्थामा कर्मचारीले आफ्नै पैसा खर्चेर जनतालाई सुविधा दिने काम गरिरहेका छन्, जननिर्वाचित प्रतिनिधि आउँछन् जान्छन् तर निजामति कर्मचारी संयन्त्र स्थायी सरकार हो, जुन सरकार नभएको बेलामा पनि जनताको काम गर्छ, यो कुरा बुझ्नुपर्छ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेको जिकिर गरेका छन्। उनले भने,‘कर्मचारी खटाएको ठाउँमा जानु भएको छ, सरकारले लगाएको आरोप निराधार छ ।’

मधेसी निजामति कर्मचारी मञ्चका अध्यक्ष भूवनेश्वर चौधरीले समृद्ध नेपाल निमार्णमा कर्मचारीको ठूलो भूमिका रहने बताउँदै सरकारले उचित किसिमको काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।  उनले भने,‘कर्मचारी समायोजन माथिबाट हुनुपर्छ, सचिवहरु मन्त्रालय नछोड्ने अनि सह–सचिवलाई एकैचोटी बढुवा गरेर प्रदेश मन्त्रालयमा पठाउने तर त्यही स्तरको कर्मचारीलाई तल्लो स्थानमा बसेर काम गर्नुपर्ने यस्तो स्थितिमा कसरी कर्मचारीको मनोवल बृद्धि हुन्छ ? कर्मचारी समायोजन तल्लो तहबाट होईन सचिव स्तरीय पदबाट हुनुपर्छ।’


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved