टर्की पालेर मनग्य आम्दानी, एक किलो मासुको एक हजार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 16, 2018 | 03:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको बेनी नगरपालिका हुलाकीडाँडाका ईश्वर केसीले जिल्लामै पहिलो पटक टर्की जातको पक्षी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन्। गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका केसीले डेढ वर्षअघि पाल्पाबाट १२ वटा चल्ला ल्याएर टर्की पाल्न शुरु गरेका थिए । 

एक वर्षयता रु दुई लाखभन्दा बढीको टर्की र चल्ला बिक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य रु तीन सयदेखि रु चार सय तथा एक महिना पाल्दा रु एक हजार ५०० पर्छ । चार महिनामा चल्ला दिन शुरु गर्ने टर्की छदेखि नौ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ । 

भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि आठ किलोग्राम तौलको हुन्छ । एक किलो टर्कीको मासुको मूल्य रु एक हजार पर्छ । यतिखेर केसी नमूना कृषकका रुपमा चिनिन थालेका छन् । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएपछि उनी यसतर्फ आकर्षित भएका हुन् । “टर्कीको मासु गाउँमै बिक्री भइरहेको छ,” उनले भने, “बेनीबाट जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन् । स्वदेशीभन्दा विदेशी पर्यटकले यसको मासु मन पराउने गर्छन् ।” 

अण्डा उत्पादनका लागि ५०० लेयर्स जातका कुखुरा पालन गर्दै आएका केसीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन गर्ने योजना बनाएका छन् । एक वर्षमा पूर्ण रुपले तयार हुने पक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउनु पर्छ । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved