आजको प्रतिनिधिसभा बैठकमा सरकारले आर्थिक सर्वेक्षण पेश गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आजको बैठकमा आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् ।
बजेट पेश हुनु अगाडि आर्थिक सर्वेक्षण पेश गर्ने नियमित प्रक्रिया रहँदै आएको छ । नयाँ आर्थिक बर्षको बजेट ल्याउनु अगाडि प्रगति, कमजोरी र चुनौती समेटेर सर्वेक्षण सार्बजनिक गर्नु पर्ने ब्यवस्था छ। आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा भएका आर्थिक प्रगति तथा आर्थिक अवस्थाका बारेमा जानकारी गराईने छ । सार्बजनिक संस्थानहरुको प्रगति विवरण पनि पेश हुने छ ।
सरकारले आगामी मंगलबार बजेट पेश गर्ने तयारी गरेको छ ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नहरुको जवाफ आज आइतबार दिदै छन्। जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रधानमन्त्रीले जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका छन् । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरिनेछ ।