बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) मा ६ राष्ट्र संलग्न छन् । दक्षिण एसियाका पाँच र दक्षिणपूर्वी एसियाका दुई । यी सातवटै देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सम्मेलन भोलि काठमाडौंमा शुरू हुँदैछ ।
नेपाल आयोजक रहेको सम्मेलनमा बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्याण्डले सहभागिता जनाउँदै छन् । बिमस्टेकको यो चौथो सम्मेलन हो ।
यस उपक्षेत्रीय समूहलाई अङ्ग्रेजी वर्णमालाका अक्षरहरूको विन्यास मिलाई छोटकारीमा ‘बिमस्टेक’ भनिएको छ । बिमस्टेक बैंकक घोषणापत्रको माध्यमबाट सन् १९९७ जुन ६ मा स्थापना भएको हो । विश्व जनसंख्याको २२ प्रतिशत हिस्सा मानिस बसोबास गर्ने बिमस्टेकको मुख्यालय ढाकामा छ ।
बिमस्टेक यी देशहरुबीच यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी) निर्माण गर्ने, हवाइ मार्गका साथै बिजुलीका प्रसारण लाइनहरू निर्माण गर्ने उदेश्यले स्थापना गरिएको हो । तर बाहिर देखाउने उदेश्य यी भएपनि भित्रि उदेश्य भने अर्कै छ । दक्षिण एशियामा भारत आफ्नो प्रभुत्व जमाउन चाहान्छ । त्यसैले सार्कको विकल्पमा भारतको योजना र अग्रसरतामा बिमस्टेक स्थापना भएको हो ।
नेपाल यतिखेर बिमस्टेकको साथै सार्कको पनि अध्यक्ष छ । दक्षिण एसियाका आठवटा देशहरू सामेल भएको सार्क क्षेत्रीय स्तरको संगठन हो जसको सचिवालय काठमाडौंमा छ । चारवर्षअघि काठमाडौंमा शिखर सम्मेलन भए यता यो संगठन निष्क्रिय जस्तै भएको छ ।
नेपालपछि पाकिस्तानमा हुने तय भएको सम्मेलन भारत र पाकिस्तानबीचको तनावले गर्दा सफल हुन सकेन । यस पृष्ठभूमिमा बिमस्टेकलाई क्रियाशील गराउने पहल सतहमा आएकोले कतै सार्कलाई लामो समय ओझेलमा पारिदिने र त्यसको विकल्पमा बिमस्टेकलाई सुदृढ गर्ने प्रयास त हुन लागेको छैन भन्ने आकलन भएको छ ।
भारत चीनसँग सम्बन्ध राख्ने देशलाई वाईपास गर्न चाहान्छ भन्ने पनि पुष्टि भएको छ । किनभने भारतको नजरमा चीन निकट र मानिएका पाकिस्तान र माल्दिभ्स बिमस्टेकमा छैनन् । यसबाट पनि पाकिस्तान र माल्दिभ्ससँग भारतले सहकार्य गर्न नचाहेको प्रष्ट हुन्छ, तर अहिलेसम्म भारतले यसबारे मुख खोलेको छैन ।
यस विषयमा अध्यक्ष राष्ट्रको भनाई के छ त ? परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार नेपाल बिमस्टेकलाई सार्कको विकल्प मान्दैन । तर सार्क र बिमस्टेक परिपुरक हुन भन्ने नेपालको निष्कर्ष छ ।
यी दुई संगठनको संरचना हेर्दा मन्त्री ज्ञवालीको भनाई केही हदसम्म सत्य नै लाग्छ । किनकी सार्क ‘क्षेत्रीय’ स्तरको निकाय हो भने बिमस्टेकले ‘उपक्षेत्रीय’ हैसियत मात्र राख्दछ । सार्क सन् १९८५ मा सर्वसम्मत बडापत्रको आधारमा स्थापना भएको हो यद्यपि यसमा आठौं सदस्य राष्ट्र अफगानिस्तानको प्रवेश केही वर्षपछि मात्र भएको हो । बिमस्टेक भने १२ वर्षपछि जन्मेको समूह हो ।
परराष्ट्रमन्त्रीले यस्तो भनेपनि यसको वास्तविकता भने अर्कैछ । बिमस्टेक सम्मेलन सकिएपछि भारतमा यस संगठनमा आवद्ध देशहरुबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । यही सैन्य शक्तिको आडमा भारत अन्तराष्ट्रिय फोरममा बार्गेनिङ गर्न चाहान्छ । र दक्षिण एशिया आफ्नो मुठ्ठिमा छ भनेर देखाउन चाहान्छ । भारतको यो स्वार्थ सामु अन्य देशहरु सचेत हुनुपर्छ ।
यति मात्रै नभई चीनसँग सम्बन्ध राख्ने देशलाई भारतले यस संगठनमा समावेश गराएको छैन । यसको अर्को मुख्य उदेश्य भनेको भारत पाकिस्तानलाई वाइपास गर्न चाहान्छ ।
यस्तो विवादकाबीच अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सम्मेलन त आयोजना गर्दैछ तर यही सम्मेलन र बिमस्टेकको सदस्य भएकै कारणले नेपालले चीन र अन्य देशहरुबाट प्राप्त गर्ने सहयोग भने गुमाउने छ । भारतले नेपाल सहितका देशलाई आफ्नो औलामा नचाउने प्रपञ्च रचिरहेको छ र त्यो योजनामा भारत सफलता नजिक पनि छ ।