तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:49:22 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको हो । 

त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ । 

उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने आधुनिक संयन्त्र निर्धारण गर्न, व्यापारीले अनिवार्य र विद्युतीय प्रक्रियाबाट बिलबिजक जारी गर्नुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । उपभोक्तालाई गुणस्तरहीन र अखाद्य वस्तुको प्रयोगबाट जोगाउन आयात गरिने र नेपालमै उत्पादन गरिएका उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरेर मात्र बिक्री वितरणको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 

चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ । 

उपभोग्य वस्तु देशका सबै भूभागमा सहुलियत दर र सरल रुपमा पु¥याउन र उपभोग्य वस्तुको आवश्यकता अनुसारको भण्डारको व्यवस्था गर्न तथा खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्नसमेत समितिले उद्योग, वािणज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गरेको छ । 

समितिले यसअघि सरकारी संयन्त्रबाट भएको बजार अनुगमनको प्रगति, आगामी कार्ययोजनासहितको सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ । चाडवाड अघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्याङ्ग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशु चौपायाको बिक्री वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ । ठूलोमात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन समितिले सरकारलाई आग्रह गरेको छ । 

त्यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडवाड अघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ । भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved