दशैं खर्चको नाममा मन्त्री बास्कोटाको मनपरी, राष्ट्रपतिकी छोरी सहित ४४ एफएमलाई लाखौँ रुपैयाँ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2018 | 02:41:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिमा व्यक्त प्रतिबद्धता विपरित सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले दशैं अगाडि आफ्नो पार्टी निकट एफ.एमहरुलाई राज्यको ढुकुटीबाट मनपरी पैसा बाँडेका छन्।

संसदको विकास तथा प्रविधि समितिको बैठकमा आफूले व्यथितिको अन्त्य गर्ने संकल्पसहित घुस नखाने र खान पनि नदिने दाबी गरेका सञ्चारमन्त्रीले नै सरकार र पार्टीका नेताहरु निकट मानिएका करिब चार दर्जन एफ. एम. रेडियोलाई लाखौँ रुपैयाँ दशैं खर्च वापत बाँडेको तथ्य सार्वजनिक भएको छ।

दशैं खर्च वापत यसरी राज्यको रकम वितरण गर्ने क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको स्वामित्वमा रहेको मेरो एफदेखि समयमा नविकरण नभएर खारेजीको सूचिमा परेका तीनवटा एफ. एम.सम्मलाई मनपरी पैसा उपलब्ध गराएका छन्।

दशैं आएकोले नपुगे लिन आए हुन्छ, दिन्छु भनि संसदीय समितिको बैठकमा पत्रकारलाई धम्क्याएका मन्त्री बास्कोटाको मन्त्रालयले देशका विभिन्न ४४ वटा एफलाई ५० हजारदेखि एक लाखसम्मका दरले दशैंखर्च वापत ३५ लाख रुपैयाँ वितरण गरेको मन्त्रालय स्रोतले बतायो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मन्त्रालयका कर्मचारीले विभिन्न जिल्लास्थित पार्टी नेताहरुको सिफारिसकै आधारमा राज्यको ढुकुटीबाट रकम वितरणका लागि सूचि तयार पारेका थिए। यसरी रकम वितरण गर्ने प्रक्रियामा मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले असहमति जनाएपछि उनलाई त्यहाँबाट सरुवा गरिएको मन्त्रालय स्रोतले बतायो।

हिमाल दैनिकलाई प्राप्त सूचि अनुसार, यसरी दशैं खर्च पाउँने एफ. एमहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणको मेरो एफ. एमदेखि पूर्व एमाले नेता प्रदिप नेपालको सप्तकोेशी एफ. एमसमेत रहेका छन्।

मन्त्रालयले मेरो एफ. एमलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको छ भने सप्तकोशी एफ. एमलाई एक लाख रुपैयाँ दशैं खर्च स्वरुप उपलब्ध गराएको छ। सप्तकोशी एफ. एमको स्टेशन म्यानेजरमा ब्रोडकास्टिङ एशोसियशन नेपाल (वान)का अध्यक्ष चन्द्र न्यौपाने रहेका छन्।

त्यसैगरी वानका उपाध्यक्ष उज्वल चौलागाईको हेटौँडा एफ. एमलाई ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् भने वानकै निवर्तमान अध्यक्ष गोपाल झा कार्यरत रेडियो मिथिलाको लागि पनि ५० हजार रुपैैयाँ छुट्याइएको छ। धनुषास्थित उक्त रेडियोको सञ्चालकमा उद्योग व्यवसायी विश्वनाथ साह रहेका छन्। कांग्रेस निकट रहेको मानिनेमा झा र साह संलग्न रेडियो मिथिला रहेको छ भने पूर्व राजा निकट मानिने मञ्जु मिश्रको सि. जे. एम. सि. काठमाडौंका लागि पनि ५० हजार रुपैयाँ छुट्याइएको छ।

रेडियो ब्रोेडकास्टिङ फोेरमका सचिव विजय हाछेतुको भक्तपुर एफ. एमका लागि ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन्। तोकिएको समयसिमाभित्र नविकरण हुन नसकेर खारेजीमा परेका पाँचथरका दुई एफ. एममध्ये सिंहलिला एफ. एमलाई ७५ हजार तथा पाँचथर एफ. एमलाई ५० हजार तथा सप्तरीको रेडियो सखीका लागि ५० हजार रुपैयाँ उपलब्ध गराएर सरकारी निकायले विद्यमान ऐन, कानुन र नियमको धज्जी उडाएको छ।

असोज १८ गते संसदको विकास तथा प्रविधि समितिको बैठकमा सञ्चार मन्त्री बास्कोटाले आफ्ना विरुद्ध पत्रकारहरुले पैसाको प्रभावमा समाचार लेखेको आरोप लगाउँदै भनेका थिएः दशैं आएको छ पुगेन भने लिन आउँदा हुन्छ, दिन्छु।

समितिको बैठकमा आक्रामक शैलीमा प्रस्तुत भएका मन्त्री बास्कोटाले पत्रकारहरुलाई धम्किपूर्ण र चुनौतिको भाषामा भनेका थिए, ‘म न्यूजद्धारा प्रभावित पनि हुन्न। व्यक्तिगत रुपमा मान्छेको एउटा संकल्प हुन्छ। त्यो भनेका व्यथिति नगर्ने हो, घुस नखाने होे, खान नदिने पनि हो। लेख्न त धेरै लेख्नु भयोे, कुनै एउटा प्रतिष्ठितले लेख्नु भयो २० करोड। लेख्नुहोस्। दशैं आएको छ पुगेन भने लिन आउँदा हुन्छ, दिन्छु। होइन भने सात पुस्ता पुग्नेगरी केलाउनुहोेस्, कहाँ कहाँ गएर जाँच्नु पर्छ जाच्नुहोस्, चुनौति पनि छ यसमा। जे पनि लेखिदिएर बद्नाम मात्रै नगनुहोस्।’ तर, मन्त्री बास्कोटा आफैँले बोलेका कुरा व्यवहारमा भने ठिक विपरित भएको पुष्टि उनैको व्यवहारले गरेको छ।

एक लाख रुपैयाँ पाउने १५ वटा एफ. एमहरुको सूचिः

१. भिजन एफ. एम. झापा, २. सप्तकोशी एफ. एम. सुनसरी, ३. रेडियो ताप्लेजुङ ताप्लेजुङ, ४. रेडियो सुनगाभा महोत्तरी, ५. कृषि रेडियो धार्के धादिङ, ६. रेडियो मेलाच्ची सिन्धुपाल्चोक, ७. रेडियो नमोबुद्ध काभ्रे, ८. रेडियो शैलुङ दोलखा, ९. प्राइम एफ.एम. काभ्रे १०. गोर्खाली रडियो कास्की, ११. रेडियो लुम्बिनी रुपन्देही, १२. रेडियो सानीभेरी रुकुम, १३. रुरु एफ.एफ. गुल्मी, १४. बुलबुल एफ.एफ. सुर्खेत, १५. रेडियो ध्रुवतारा दैलेख

७५ हजार रुपैयाँ पाउने २२ एफ.एफको सूचिः

१. सिमरिक एफ.एम. मोेरङ, २. सिंहलिला एफ.एफ. पाँचथर, ३. सुसेली एफ.एम. मोरङ, ४. गणतन्त्र एफ.एम. सुनसरी, ५. रेडियो रामधुनि सुनसरी, ६. इलाम रेडियो इलाम, ७. समाद एफ.एम. सिराह, ८. रेडियो विजय किल्ला सिन्धुली, ९. भक्तपुर एफ.एम. भक्तपुर, १०. रेडियो पर्यावरण ललितपुर, ११. रेडियो गण्डकी कास्की, १२. मनास्लु एफ.एम. गोरखा, १३. रुबरु एफ.एम. बाँके, १४. रेडियो जलजला रोल्पा, १५. कर्णाली एफ.एम. जुम्ला, १६. रेडियो डोल्पा एफ.एम. डोल्पा, १७. रेडियो कर्णाली आवाज एफ.एम. हुम्ला, १८. शारदा एफ.एम. सल्यान, १९. सामुदायिक रेडियो अमरगढी डडेल्धुरा, २०. बेलौरी एफ.एम. कञ्चनपुर, २१. सुदूर संचार एफ.एम. कञ्चनपुर, २२. सौगात एफ.एम. बैतडी

५० हजार रुपैयाँका दरले पाउने ७ एफ.एमको सूचिः

१. पाँचथर एफ. एम. पाँचथर, २. रेडियो मिथिला, धनुषा, ३. रेडियो सखी सप्तरी, ४. मरो एफ.एम. काठमाडौं, ५. सि.जे.एम.सि. काठमाडौं, ६. हेटौँडा एफ.एम. मकवानपुर, ७. रेडियो मुक्ति रुपन्देही

हिमाल दैनिकबाट साभार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved