ऊर्जामन्त्रीलाई प्रश्न- 'लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 08:19:28 AM मा प्रकाशित

laxmi  sunrise bank

‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्ने र समस्याको समाधान गर्न पहल गर्ने भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाए  । उनले भने ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने नै हो र ?’’ 

राइनले त्यतिमात्रै भनेनन, गाउँपालिकाका पदाधिकारीले स्थानीय तहको निर्वाचनमा भोट नदिएको भनेर जानाजान छुटाएको समेत गुनासो गरे  । अन्यत्र बसोबास गर्ने स्थान र आफ्नो नाममा जग्गा नभएका कारण सार्वजनिक जग्गामा बस्दै आएको राइनको भनाइ थियो । उनले भने , “पुर्खादेखि बस्दै आएको जग्गा छाडेर कहाँ जाऊ कहीँ कतै पनि हाम्रो आफ्नो भन्ने जग्गा छैन । के हामीले बिजुली बाल्नै नपाउने हो त ?” राइनले मन्त्री पुनलाई आफ्नो कुरा मात्रै सुनानन समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे   । 

पछिल्लो पटक सरकारले लालपुर्जा नभएकालाई समेत विद्युत्को मिटर उपलब्ध गराउने व्यवस्था गरेको छ । जग्गाधनी प्रमाणपत्र नै नभएकालाई समेत मिटर उपलब्ध गराउने निर्णय तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । सोही निर्णयका आधारमा प्राधिकरणले भूमिहीन र सुकुम्बासीलाई समेत मिटर उपलब्ध गराउँदै आएको भए पनि केही जिल्लामा लालपुर्जा नभएकालाई मिटर दिइँदैन । 

महोत्तरीका राइनको गुनासो सुनेपछि मन्त्री पुनले भने  “तपाईले मिटर पाउनुहुन्छ । त्यसको आवश्यक व्यवस्थाका लागि महोत्तरी वितरण केन्द्रलाई आवश्यक निर्देशन दिन्छौँ । वितरण केन्द्रमा सम्पर्क राख्नुहोला र मिटर पाए नपाएको खबर गर्नुहोला ।” मन्त्री पुनको उत्तर सुनेपछि राइनले खुशी हुँदै भने , “मन्त्रीज्यू यहाँलाई धेरैधेरै धन्यवाद छ । 

हरेक शुक्रबार मन्त्री पुनले पैसा नलाग्ने फोन नम्बर ११५१ मा नागरिकका गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने गर्दै आएका छन् । सोही क्रममा मन्त्री पुनले शुक्रबार देशका विभिन्न स्थानका १२ जनासँग संवाद गरेका हुन्। 

सप्तरी कृष्णसार गाउँपालिकाका सञ्जीवकुमार चौधरीले पनि मन्त्री पुनलाई आफ्नो गुनासो सुनाए   । उनले प्रसारण लाइनको टावर निर्माण भइरहेका कारण ४० वर्ष पुराना आँपका रुख काट्नुपर्ने अवस्था आएकाले त्यसको क्षतिपूर्ति पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा राखे । यस्तै चौधरीले बाङ्गोटिङ्गो हुने गरी गाडिएका वितरण लाइनका पोल सिधा पार्न पटकपटक प्राधिकरणको स्थानीय कार्यालयलाई भने पनि त्यसको सुनुवाइ नभएकोमा मन्त्री पुनसमक्ष गुनासो गरे   ।  

नागरिकका गुनासा सुन्ने र त्यसलाई समाधान गर्ने लक्ष्यका साथ नियमित रुपमा नै हरेक शुक्रबार एक घण्टा मन्त्री पुन हटलाइनमा उपस्थित हुने गरेका छन् । सार्वजनिक कार्यक्रम पर्दा वा मन्त्रालयको काम विशेषले उपत्यका बाहिर रहँदा मात्रै नियमित हुन नसकेको भए पनि त्यसलाई नियमित गराउन लागिपरेको बताए  । नागरिकका कस्ता समस्या छन्, त्यसको समाधानका लागि के कस्तो पहल गर्नुपर्छ भन्ने जानकारी हटलाइनबाट प्राप्त गर्न सकिने भएकाले यसलाई नियमित रुपमा अगाडि बढाउने सोचमा मन्त्री पुन छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved