कोटेश्वर-कलंकी सडक नेपाललाई सोमबार हस्तान्तरण हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2019 | 08:47:40 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन सरकारको आर्थिक सहयोगमा विस्तार गरिएको कोटेश्वर–कलंकी सडक सोमबारदेखि आधिकारिक रुपमा नेपाललाई हस्तान्तरण गरिने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा चीनले नेपाललाई सडक हस्तान्तरण गर्न लागेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केवशकुमार शर्माले जानकारी दिए । 

‘चीनको काम सबै सकिएको छ’, शर्माले भने, ‘सोमबार प्रधानमन्त्रीको उपस्थितमा सडक हस्तान्तरण हुने कार्यक्रम छ ।’ चिनियाँ पक्षको काम समाप्त भइसकेपनि चक्रपथ विस्तारले भने पूर्णता पाइसकेको छैन । यसमा नेपाल सरकारको तर्फबाट हुनुपर्ने काम बाँकी छ । ट्राफिक लाइट, जेब्रा क्रसिङ, आकाशेपुल, बस स्टप, सर्भिस लेन नेपालले बनाउनुपर्ने हो । चिनियाँ टोलीको डिजाइना प्रभाव पर्ने भएकाले सडक हस्तान्तरण गर्नु अघि उसले नेपालको तर्फबाट हुने काम गर्न रोकेको थियो । अब यी काम पनि तिब्रगतिमा सम्पन्न गर्ने शर्माको दाबी छ । पैदलयात्रीका लागि नेपालले थप १० वटा पुल बनाउने छ । 

कुल २७ किलोमिटर लामो चक्रपथमध्ये कोटेश्वर–कलंकी सडक १०.३९ किलोमिटर छ । चीनको सांघाइ कन्सट्रक्सन ग्रपले साढे पाँच वर्ष लगाएर चक्रपथको एउटा भाग विस्तार गरेको हो । यसलाई विस्तार गर्न करिब पाँच अर्ब रुपैयाँ खर्च भएको बताइएको छ ।  दुई लेनको चक्रपथलाई विस्तार गरेर चार लेनमा बढाइएको हो । सडकसँगै कोटेश्वर, बागडोल र ग्वार्कोमा तीन वटा आकाशेपुल, बालकुमारी, खसी बजार, बल्खु, मनहरा लगायत स्थानमा आठ वटा पुल र कलंकीमा एउटा अन्डरपास पनि निर्माण गरिएको छ । 

चिनियाँ कम्पनीले २०७० सालमा यो सडक विस्तारको काम अघि बढाएको थियो । २०७३ मागसम्ममा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको भारतीय नाकाबन्दी र भुकम्पका कारण २०७५ असारसम्म समय थप गरिएको थियो । त्यस समयमा पनि काम सम्पन्न हुन नसक्दा २०७५ मंसिर मसान्तसम्म समय थप गरिएको थियो । पछिल्लो सम्झौता अनुसार चिनियाँ कम्पनीले मंसिरमै सम्पन्न गरेको थियो । उच्च पदस्थ व्यक्तिको उपस्थितमा सडक हस्तान्तर गर्ने प्रयासमा डेढ महिना ढिला भएको हो । 

विस्तारित सडक निकै आकर्षक देखिएको छ । कोटेश्वर चोक बाहेक विस्तारित सडकको अन्य क्षेत्रमा लामो समयसम्म जाम हुने गरेको छैन । कलंकी चोकमा निर्माण गरिएको आठ सय मिटर लामो अन्डरपासले पनि जाम हटाउन निकै उपयोगी देखिएको छ । 

 काठमाडौं उपत्यकामा भित्रिने अधिकाम्स सवारी कलंकी भएर छिर्ने गर्छन् । सो खण्डमा सवारीको चाम अधिक भएकाले त्यसलाई न्युनिकरण गर्नका लागि अन्डरपास निर्माण गरिएको हो । चक्रपथमा गुड्ने गाडीहरु अण्डरपासबाट गुड्ने छन् भने नागढुङ्गा र कालीमाटी भएर आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या चक्रपथमा गुड्ने गाडीहरु अण्डरपासबाट गुड्ने छन् भने नागढुङ्गा र कालीमाटी भएर आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या न्युनिकरण गरिरहेको छ । अन्डसपास निर्माण हुन अघि यस क्षेत्रमा घन्टौं सवारी जाम हुने गरेको थियो । 

अर्को चरणमा कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार गर्ने योजना अघि सारिएको छ । संभवत यो पनि चीन सरकारकै अनुदानमा निर्माण हुनेछ । हाल चीन सरकारले नै उक्त खण्डको विस्तुत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । उच्च स्तरीय सहमतिका आधारमा यसको काम पनि अघि बढाइने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved