सप्तरीवासीको माग सम्बोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 06:20:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२÷३३ केभी सवस्टेशन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु ३६ करोड लगानीमा निर्माण सम्पन्न भएको रुपनी सवस्टेशन सोमबारबाट सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । पूर्व पश्चिम १३२ केभी क्षमताको राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी सवस्टेशनमार्फत् सप्तरीमा आपूर्ति हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सिराहाको लहानबाट करीब २५ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् ल्याएर रुपनीमा रहेको ३३÷११ केभी सवस्टेशनबाट सप्तरीका विभिन्न ठाउँमा विद्युत् आपूर्ति भइरहेको थियो । लामो दूरीबाट विद्युत् ल्याएर आपूर्ति गर्दा कम भोल्टेज, प्राविधिक चुहावट, लाइन ट्रिप हुनेलगायतका समस्या हुँदै आएको थियो ।

“अब पूर्व पश्चिम १३२ केभीमार्फत् प्रवाह भएको विद्युत्लाई रुपनी सवस्टेशनमार्फत् सप्तरीमा वितरण हुन्छ, यसबाट त्यस क्षेत्रको भोल्टेजमा सुधार हुन्छ, प्राविधिक चुहावट घट्छ र उपभोक्ताले विश्वसनीय तथा गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउँछन्”, कार्यकारी निर्देशक घिसिङले भने ।

रुपनी सवस्टेशनबाट पाँच फिडरमार्फत् सप्तरीका राजविराज, बलरदा, बरसाइनलगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिएको आयोजना प्रमुख निरंजन साह सुडीले जानकारी दिए । सवस्टेशन निर्माणका लागि सिनोहाइड्रो कर्पोरेशन र मुडबरी एण्ड जोशीको संयुक्त उपक्रम (जेभी)सँग २०७२ भदौमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य भएपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० ग्रिड र २० वितरण सवस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।

चालू आवको हालसम्म झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शीतलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, बर्दियाको राजापुर, कैलालीको हसुलियालगायतका सवस्टेशन सञ्चालनमा आइसकेका छन् । चालू आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ ग्रिड र २० वितरण सवस्टेशनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved