युवालाई कृषिमा सहभागी गराउने योजनामा बुटवल उपमहानगरपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 03:46:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारेको छ ।  बुटवलमा भूमि बैंक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । 

उपमहानगरकाका सेमलार र मोतीपुरलगायत वडामा  रहेको प्रशस्त खेतीयोग्य जमीनमा युवा जनशक्तिलाई सहभागी गराउन शहरी कृषि प्रवद्र्धनका कार्यक्रम अगाडि बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । 

बुटवलमा सिंचाइका सुविधा पुगेको जग्गा एक हजार ७९७ हेक्टर छ । सिंचाइ नभएको तर खेती भइरहेको ३४६ दशमलव ५२ हेक्टरसमेत गरी कुल दुई हजार १४४ हेक्टर क्षेत्रफल छ । सबैभन्दा धेरै वडा नं १९ मा ३९३, वडा नं १८ मा २८२ र  वडा नं १४ मा २६१ हेक्टर रहेको छ । सबैभन्दा कम वडा नं ५ मा छ जहाँ शून्य दशमलव शून्य तीन हेक्टर क्षेत्रफल छ ।

कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने, बजेटको व्यवस्थापन गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको नगर प्रमुख सुवेदीले बताए । कोरोना महामारीविरुद्ध जुधिरहेका बेला शहरी कृषिमा पुनर्जागरण ल्याउने गरी बुटवलले अर्को नमूना कामको थालनी गरेको हो । बुटवलमा करीब दुई हजार एक १४४ हेक्टर क्षेत्रफल खेती र कृषिसँंग सम्बन्धित कामको प्रयोजन भइरहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि युवा शक्ति विदेशिने, अव्यवस्थित बस्तीको विकास, जग्गाको खण्डीकरणसँगै जमीन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसक्दा उत्पादनमा आएको कमी सुधार्न यसखालको अवधारणा ल्याइएको उपमहानगरपालिकाका प्रवक्ता तथा  रेग्मीले बताए । बुटवलले शहरी कृषिको प्रवद्र्धन, फसल धितो राखेर ऋण, जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन अनुदान, कृषि उपकरण तथा बीउविजन प्रदानदेखि कृषि उपजको बजारीकरणसम्मका नमूना काम गर्दै आएको छ । 

त्यस्तै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अहिले भूमि र श्रम बैंक तथा कृषि उत्पादकत्व वृद्धि गर्ने अवधारणासहितको कार्यक्रम बनाइएको प्रमुख सुवेदीको भनाइ छ । 

 प्रवक्ता रेग्मीको संयोजकत्वमा गठित कार्यदलले बुटवलका प्रत्येक वडामा बाँझो रहेको जमीनको यकिन गर्ने तथा वडामा बसोबास गर्ने बेरोजगार युवाको तथ्याङ्क संकलन गर्ने काम गरिरहेको छ । कार्यदलले सोही आधारमा नयाँ योजना बनाउनका लागि सुझाव संकलन गरिरहेको छ । उपमहानगरका विभिन्न संयन्त्रमार्फत सुझाव संकलन भइरहेको छ । 

युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने र विदेशबाट फर्केर आउनेलाई यही उत्पादनमूलक क्षेत्रमा लगाउने लक्ष्यका साथ श्रम बैंकको अवधारणा बनाइएको छ । कोरोना महामारीका कारण मुलुकमा खाद्यसंकट निम्तिन सक्ने खतरा रहेको विज्ञले बताइरहेका बेलामा बुटवलले अहिले कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका र तत्काल रोजगारीमा जान सक्ने अवस्था नरहेका युवाशक्तिलाई कृषि उत्पादनका काममा जोड्ने गरी श्रम बैंकको अवधारणा बनाएको हो । युवाशक्तिका पाखुरीलाई कृषि उत्पादनमा आकर्षण जगाउने र त्यसमार्फत विस्तारै आत्मनिर्भर बन्दै जाने योजनाका साथ काम थालिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved